कोरोनाका कारण उपत्यकाका यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण रोक्ने
काठमाडौं । काठमाडौं उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले आइतबारबाट चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण तत्कालका लागि सेवा स्थगित गरिएको जनाइएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्याधिक भीडका कारण त्यो कायम हुन सकेको छैन ।
कार्यालयले असारदेखि सेवा दिँदै आएकामा सेवाग्राहीको घुइँचो हुने गरेको छ । कार्यालयमा अत्याधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गाह्रो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताए ।
उनका अनुसार काठमाडौं उपत्यकामा संक्रमण बढिरहेकाले एकान्तकुनासँगै जगाती, सुकेधारा र ठूलोभ¥याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन् ।
उनले भने, ’उपत्यकामा कोभिड कम नभएसम्म तत्काल सञ्चालन गर्ने अवस्था छैन ।’ कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।
अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम मात्र तत्कालका लागि रोकिएको हो । राजस्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उनको भनाइ छ ।
नवीकरणका लागि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ । कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ । उनले भने, ’सामान्य अवस्थामा ५०० को नवीकरण भएकामा अहिले त्यसको आधा गरिएको हो । रासस






























