डिजिटल बैंकिङले अवसर र जोखिम दुवै ल्यायो : डेपुटी गभर्नर ढुंगाना
काठमाडौँ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले डिजिटल प्रविधिले बैंकिङ क्षेत्रमा कारोबार गर्न सहजता र अवसर सिर्जना गरे पनि यसले नयाँ प्रकारका जोखिमहरू समेत भित्र्याएको बताएकी छन्।
आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भविष्यको बैंकिङ क्षेत्रलाई सुरक्षित र दिगो बनाउन प्रविधिको सदुपयोगसँगै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
डेपुटी गभर्नर ढुंगानाले कोभिड महामारीपछिको सुस्तताबाट मुलुकको अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्किएको समेत बताइन् । उनले भनिन्, ‘समग्र आर्थिक गतिविधिमा क्रमशः सुधार देखिएको छ।
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान छ भने मुद्रास्फीति ४.४ प्रतिशतको लक्षित सीमाभित्रै छ। यसले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको सङ्केत गर्छ।’
डिजिटल बैंकिङको विस्तारले भुक्तानी प्रणालीमा क्रान्ति ल्याएको स्वीकार गर्दै उनले यसका चुनौतीबारे सचेत समेत गराइन् ।
‘पहिले कुनै बैंकमा समस्या आउँदा पैसा झिक्न मानिसको लाइन लाग्थ्यो तर अब मोबाइलबाटै एकैछिनमा ठूलो रकम झिक्न सकिन्छ, जसले नयाँ प्रकारको तरलता जोखिम सिर्जना गरेको छ,’ उनले भनिन्, ‘बढ्दो डिजिटल बैंकिङ, अनलाइन भुक्तानी र बढ्दो सूचना प्रविधिको प्रयोगसँगै साइबर सुरक्षाको जोखिम पनि बढेको छ।’
राष्ट्र बैंकले यिनै जोखिम न्यूनीकरण र नियमनका लागि २०७५ सालमा भुक्तानी प्रणाली विभाग स्थापना गरी काम गरिरहेको डेपुटी गभर्नर तिम्सिनाले जानकारी दिइन्।
डेपुटी गभर्नर तिम्सिनाले राष्ट्र बैंकले बैंकहरुलाई लाइसेन्स दिन हतारमा कुनै निर्णय नलिने समेत स्पष्ट पारिन्। केही वर्षअघि अस्वस्थ प्रतिस्पर्धाका कारण बैंकहरूलाई मर्जरमा जान बाध्य पारिएको स्मरण गर्दै डेपुटी गभर्नर तिम्सिनाले भनिन्, ‘राष्ट्र बैंकले गरेको अध्ययनले नै १५ देखि १८ वटा वाणिज्य बैंक उपयुक्त हुने देखाएको छ। कुनै ठोस अध्ययन र आधारबिना हतारमा नयाँ बैंक खोल्ने र केही समयपछि फेरि मर्जरमा जाने नीतिगत अस्थिरताले कसैलाई डेपुटी गभर्नर तिम्सिनाले
बैंकिङ क्षेत्रका विद्यमान समस्याहरू जस्तै बढ्दो खराब कर्जा र गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताए । ‘बैंकहरूले दिएका सुविधाहरूलाई ‘टेकन फर ग्रान्टेड’ रूपमा लिनु हुँदैन,’ उनले भनिन्, ‘कर्जा प्रवाह गर्दा व्यावसायिक ढंगले विश्लेषण गर्न र कर्जा असुलीमा ध्यान केन्द्रित गर्न आवश्यक छ।’ उनले संस्थागत सुशासन र व्यावसायिक संस्कृतिको विकास गर्न सके बैंकिङ क्षेत्र थप बलियो हुने विचार समेत व्यक्त गरिन्।
डेपुटी गभर्नर तिम्सिनाले राष्ट्र बैंकले भविष्यका चुनौतीहरूलाई सामना गर्न र वित्तीय स्थायित्व कायम गर्न आवश्यक नीतिगत व्यवस्था र नियमनमा निरन्तर काम गरिरहेको समेत बताइन् ।
डेपुटी गभर्नर तिम्सिनाले बैंकिङ क्षेत्रको दिगो विकासका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

























