stcnepal long ad
global ime bank long

राजदूत नेपालद्वारा  स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

म्याड्रिड  । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेका थिए ।

त्यस अघि विशेष सुरक्षा सहित राजदूत नेपालले स्पेनको परराष्ट्र मन्त्रालयमा गएर स्पेनको परराष्ट्र मन्त्रालयमा दक्षिण तथा पूर्वी एसिया हेर्ने  उप महानिर्देशक गिलेर्मो अंगिरासंग  औपचारिक भेटघाट गरेका थिए ।  प्यालेस द सान्ता क्रुजमा  स्पेनको रोयल गार्डले राजदूत नेपाललाई सम्मान गारद अर्पण गरेको थियो।  उक्त अवसरमा नेपालको राष्ट्रिय गान पनि बजाइएको थियो।

म्याड्रिडस्थित  नेपाली दूतावासले  एक विज्ञप्ति जारी गर्दै स्पेनका नरेश तथा राजदूत नेपालबीच दुइ मुलुकहरुबीच सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको जनाएको छ ।

राजदूत नेपाललाई बधाई दिनुका साथै राजा फेलिपेले  युवा अवस्थामा पर्यटकको रुपमा नेपालको अनौपचारिक भ्रमणको सम्झना गरे । उनले फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए ।

राजा फेलिपेले राजदूत नेपालको सफल कार्यकालको कामना गर्दै बितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।  सो अवसरमा राजदूत  नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएका थिए  ।

राजदूत नेपालले परराष्ट्र नीतिदेखि लिएर नेपालको विकास योजना र कार्यक्रमलगायतका विविध विषयमा पनि राजा फेलिपेलाई अवगत गराएका थिए । उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको असर बारे चर्चा गर्दै जलवायु परिवर्तनलगायतका समस्या संग जुध्न अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताए।

उनले दुई देश र जनताबीच विद्यमान द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न अथक प्रयास गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गरेका थिए  । नेपाल र स्पेनबीच मे १३, १९६८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्याड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो।

IME Lifesidebar
kumari