प्रधानमन्त्री ओलीबाट नेपाल मेडिकल कलेजको डेन्टल भवनको उदघाटन मुलुक अध्यारो युगबाट उज्यालो युगमा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताएका छन् ।
काठमाडौं गोकर्णेश्वर नगरपालिकाको ८ नं वडा अत्तरखेल स्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताएका छन् ।
उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्ने कुरामा जोड दिएका छन।
“खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ । निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन ।
शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । एसइईमा ४८ प्रतिशतमात्र उत्तीर्ण हुने र ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ,कपि जाँच्नेले पनि ५२ प्रतिशतलाई फेल गराउने अवस्थाको अन्त्य हुनु पर्दछ ।’’ भनेका छन।
प्रधानमन्त्री ओलीले एसइइमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने पनि बताएका छन ।
आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारीरुपमा काम हुन नसकेको बताउदै
प्रधानमन्त्री ओलीले जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन। प्रधानमन्त्री ओलीले मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँ भवन उपयोगी हुने विश्वास व्यक्त पनि गरेका छन। सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँ नवनिर्मित पाँच तले डेन्टल कलेज भवनको उद्घाटन गरेका थिए ।
नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यमा पाँच तले नयाँ भवन उपयोगी हुने ठानिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गरेका थिए ।
नेपाल मेडिकल कलेजले हालसम्म एमबीबीएसमा दुई हजार दुई सय ६२ जना , बीडीएसमा तीन सय ३५ जना, एमडीएमएस र एमडीएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तर्गत डीएम एमसीएचमा ८ जना, बीएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा २ सय ८ गरी स्थापनाकाल हालसम्म ४ हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।
सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, प्रतिनिधि सभाको काठमाडौं क्षेत्र नं ३ का सांसद सन्तोष चालिसे,
बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री बिमल ठकुरी , नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पोलिटव्युरो सदस्य तथा बागमती प्रदेशका पुर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल,पुर्व सांसद एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य कृष्ण बहादुर राई, नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौ क्षेत्र नं ३ को समानुपातिक सांसद शान्ति श्रेष्ठ , गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उप–मेयर सान्नानी लामा लगायत कलेजका प्राध्यापक,अस्पतालका चिकित्सक, नर्स, कर्मचारी,बिरामी र स्थानीय जनतागरि कार्यक्रममा एक हजार जनाको उपस्थिति रहेको थियो । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीको अध्यक्षतामा कार्यक्रम भएको थियो।
उनले कलेजले २५ वर्षको अवधिमा उत्पादन गरेका दक्ष जनशक्ति र अस्पतालले उपचार सेवामा पुरयाउदै आएको योगदानका विषयमा जानकारी गराएका थिए। साँझ सांस्कृतिक कार्यक्रम र रात्री भोज गरिएको थियो।
नेपाल मेडिकल कलेजले दक्ष चिकित्सक,नर्स,मेडिकलसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्न र सामान्य उपचार सेवादेखि जटिल किसिमका अप्रेसन समेत गरि बिरामीको उपचारमा राम्रो सेवा पुरयाउदै आएको छ। यस अस्पतालले वार्षिक ४२ हजार बिरामीको उपचार गर्दै आएको छ।