आज ४२ औँ पुष्पलाल स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
सत्तारुढ नेकपाका साथै अन्य कम्युनिष्ट पार्टीले पनि उनको योगदानको स्मरणमा विभिन्न कार्यक्रम गर्दैछन् ।
वैशाख २००६ मा चारजना साथीसँग मिलेर उनले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए । उनको जन्म विसं १९८१ असार १५ गते रामेछापमा भएको थियो । उनी सहिद गङ्गालालका भाइ हुन् ।
कम्युनिष्ट पार्टी स्थापना गर्ने नेता भएकाले नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । पुष्पलालले नेपालको गहिरो इतिहास अध्ययन गर्नुका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिष्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको बिक्रम सम्बत २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।





























