नेपाल एयरलाइन्स वाइडबडी ए–३३० विमान मर्मतपछि इटालीबाट फर्कियो
काठमाडौं ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ ।
गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक) का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौँ अवतरण गरेको छ ।
योसँगै लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास छ ।
निगमको अर्को वाइड बडी विमान पनि सी–चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८)मा इटलीमा मर्मतका लागि पठाएको थियो ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए । एक वाइडबडी थपिएपछि अब तीन विमान मार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ ।