भ्रष्टाचार मुद्दामा गोदावरी नगरपालिका मेयर–उपमेयरसहितलाई सफाइ
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहितले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोडाढुंगा उत्खनन र निकासीमा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जन, उपमेयर अधिकारी सहित ५ वर्षका प्रमुख प्रशासकीय अधिकृतहरू र लेखा अधिकृत, क्रसर सञ्चालक समेतलाई १ अर्ब ४ करोड बिगो माग दाबीसहित १४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बुधवार उनीहरूलाई सफाइ दिएको हो ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म क्रसर उद्योगलाई कानूनले तोकेभन्दा सस्तोमा ढुंगा, गिट्टी, बालुवा, ग्राभेल निकाल्न दिई राजस्व चुहावट गरेको उनीहरूमाथि अभियोग थियो ।
बागमती प्रदेशसँगको आर्थिक ऐनसँग बाझिने गरी घटी दरको राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोप दाबी प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रसम्बन्धी संवैधानिक व्याख्या भएकाले विशेष अदालतबाट परीक्षण गर्न नमिल्ने संक्षिप्त फैसलामा उल्लेख छ ।