सुन पसलमा चोरी गर्ने तीन पक्राउ
काठमाडौ । रातको समयमा लाजिम्पाटकाे सुन पसलकाे सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी रहेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाका अनुसार कागज, बोतल उठाउने व्यक्तिको हुलियामा सुन, चाँदी पसलको रेकी गरी उनीहरुले चोरी गर्ने गरेका थिए ।
उनीहरुले लाजिम्पाटको पबी ज्वेलर्समा रहेको एक किलो एक सय ५० ग्राम सुन, ८ किलो ५ सय ६० ग्राम चाँदी र नगद समेत गरी ८५ लाख ६ सय ४२ रुपैयाँ बराबरको चोरी गरेको अनुसन्धानबाट देखिएको छ ।
महाशाखाको विशेष टोलीले सुमित र बुद्धलाई मोरङको उर्लाबारीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । विक्रमलाई भने दरबारमार्गबाट पक्राउ गरिएको थापाले बताए ।
घटनामा संलग्न दुई जना भारतीय मूलका अभियुक्त फरार छन् । प्रहरीका अनुसार उनीहरुले पसलभित्र रहेको सीसी टीभीको डीभीआर समेत बोकेर लगेका थिए ।
दुई वटा समूहले जेलमा भएको बेला चिनजानपछि पुनः भेला भएर अन्तिम पटक ठूलो काम गर्ने भन्दै चोरी गरेको पाइएको छ । जेलबाट छुटेको एक महिनामै उनीहरुले यो चोरी गरेको थापा बताउँछन् ।




























