वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने चेम्बरको कार्य योजना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने तीन वर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ ।
आइतबार चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गर्दै तीन वर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेको हो ।
चेम्बरले आर्थिक शिथिलताको अविलम्ब अन्त्य, नीतिगत स्थायित्व र निजी क्षेत्रलाई नीतिगत संरक्षण आदि विषयमा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ ।
चेम्बर निजी क्षेत्रको सबैभन्दा पुरानो र नेतृत्वदायी भूमिकामा रहेको भन्दै आगामी ३ वर्ष कार्य योजना बनाएको अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
श्रम बजारमा ५ लाख युवा प्रवेश गर्ने भएकाले वार्षिक २० प्रतिशतका दरले थप रोजगारी सिर्जना गर्न पहल गर्ने उनको भनाइ छ । उनले दिगो आर्थिक विकासका लागि स्थिर सरकार र नीतिगत स्थायित्वमा जोड दिने चेम्बरको कार्य योजना रहेको बताए ।
अध्यक्ष अग्रवालले आगामी ३ वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादनलाई ५६ खर्ब ५ अर्बबाट ७५ खर्ब पुर्याउने गरी औसतमा वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न समन्वयात्मक भूमिका निर्वाह गरिने बताए ।
कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापारको १४ प्रतिशतको योगदानलाई वृद्धि गरिने अग्रवालको दाबी छ ।
आर्थिक वर्ष २०८०/०८१मा मुलुकको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमानका आधारमा आगामी ३ वर्षमा प्रतिव्यक्ति आय कम्तीमा २ हजार डलर पुर्याउने कार्य योजनाका लागि पहल गरिने अध्यक्ष अग्रवालको भनाई छ ।
उनले पूर्वाधारका योजनालाई पाइलट प्रोजेक्टका रूपमा विकास गरी विदेशी लगानीको आकर्षणका लागि पहल गरिने बताए ।