कृषि विकास निर्देशनालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, सहकारीका अध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्याङ्जाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
कृषि निर्देशनालयबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाण पुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको भन्नेबारे उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
जसअनुसार अनुदानको २८ लाख ३७ हजार २१७ रुपैयाँ भुक्तानी गरेर सम्झौता विपरीतका कार्यहरू गरेको र सरकारी सम्पत्ति हानि–नोक्सानी हुने गरी कार्य गरेको देखिँदा जनही सोही रकम बिगो कायम गरेर विशेष अदालतमा आरोप(पत्र दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।