१६ बुँदे घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न
काठमाडौं । १६ बुँदे घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआइडब्लूएलएफ) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो ।
२ दिनसम्म सञ्चालन भएको सम्मेलनमा भएका वृहत छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले जानकारी दिइन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायतका सरोकारवाला निकाय समक्ष यो घोषणापत्र पेस गरी नीतिगत सुधारका लागि पैरवी गरिने उनले जानकारी दिइन् ।
कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने कुरा घोषणापत्रमा समेटिएको छ ।
साथै, महिलामैत्री कृषि यान्त्रिकीकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने लगायतका विषय घोषणापत्रमा समेटिएको फोरमले जनाएको छ ।
त्यस्तै, कृषिमा बिमा र सहुलियत ऋणको प्रभावकारिता बढाउनुपर्ने, कृषिमा पर्याप्त लगानीको खाँचो देखिएको फोरमले औंल्याएको छ ।
सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्ने लगायतका विषय घोषणापत्रमा उल्लेख रहेको फोरमले जनाएको छ ।