पहाडी भेगमा आज पनि मेघगर्जन सहित वर्षा, उच्च भेगमा हिमपात
काठमाडौं । पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी केही भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहारमा सिर्जित न्यून चापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमल ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २३ दशमलव ३ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।
गत २४ घण्टामा काठमाडौंमा ५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै धनकुटामा ४८ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।