भ्याट छली गर्नेलाई सरकारले नछाड्ने अर्थमन्त्री डा. महतको दाबी

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भ्याट छली गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । उनले भ्याट छल्ने अवस्था आउनै नदिने गरी काम गर्ने दाबी गरेका हुन् ।
बागलुङस्थित आन्तरिक राजश्व कार्यालयको अनुगमन गर्न पुगेका मन्त्री महतले जनताले तिरेको भ्याट छलेर खानेलाई जुनसुकै हालतमा कारबाही गर्ने जनाएका हुन् । लक्ष्यभन्दा राजश्व संकलन भइरहेको कार्यालयको तथ्यांक बुझे पनि उनले उक्त धारणा राखेका हुन् ।
जानाजान कर नतिरेका, भ्याट छलेका घटनाले लक्ष्य पुग्न कठिन भएको उनको भनाइ थियो । ‘भ्याट भनेको जनताले मूल्यमै तिरिसकेको राजश्व हो, त्यो हिनामिना गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘त्यस्तो अपराध गर्ने र गराउन सहयोग गर्नेलाई कडा कारबाही हुन्छ ।’ उनले लक्ष्यअनुसार राजश्व संकलनमा भ्याट छली गर्ने प्रवृत्ति हाबी हुन नदिने समेत बताए ।
उनले लक्ष्यबढी कर संकलन गरेर राज्यको आयस्रोत बढाउने र विकासका योजनामा लगानी गर्ने बताए । उनले पर्यटन प्रवर्द्धन, कृषि उपज उत्पादन जस्ता क्षेत्रमा लगानी गरेर दिगो श्रोतको सुनिश्चित गरिने बताए । बैंकको ब्याजदर घटेकोले ऋण प्रवाह, ब्याज आम्दानी तथा उत्पादन बढ्ने उनले बताए ।