चीनतर्फ पनि सिमा अतिक्रमण
काठमाडौँ । होचाकी जोई सबैको भाउजु भने झै नेपाललाई जे गरे पनि हुन्छ भन्ने ठानेर हो कि चीन तर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण भएको छ । त्यसो त उत्तरी छिमेकी चीनसँग वर्षोदेखि सीमा अतिक्रमण सम्बन्धी समस्या सुल्झन सकेको छैन ।
नेपाली अधिकारीहरुका अनुसार पाँच वटा हिमाली जिल्लाको करिव १ हजार ४ सय ५६ रोपनी गोरखा तथा दार्चुलाको एक/एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ ।
गोरखाको रुई गाउँ नेपालको थियो, कसरी हो अहिले चीनको स्वशासित प्रदेश तिव्वतको अधिनमा पुग्यो । तिव्वतको भागमा पुगे पछि नेपालीहरु त्यहाँ टिक्न वस्न नसकेर साम्दो भन्ने गाउँमा आएर बसे ।
आफ्नो पैतृक थलो तिव्वतको अधिनमा हुँदा स्थानीय जनतालाई चित्त बुझेको छैन । तर गर्न नै के सकिन्छ र ? नेपाली धर्म संस्कृतिलाई चीनको साँस्कृतिक क्रान्तिको नाउँमा तहस नहस पारियो । गुम्बाहरु भत्काइए । केही न लागेर आफूलाई नेपाली नै वनाइ राख्न एक थरी स्थानीय वासिन्दा नेपाल तर्फ निकै भित्र आएर वसोवास गरे । यसबारे अहिलेसम्म हाम्रो सरकार मौन वसेको छ ।
रुई गाउँ त नेपालबाट चीनले आफ्नो अधिन बनायो, त्यसका अतिरिक्त विभिन्न भागमा अतिक्रमण गरेको छ । नेपालको आधिकारिक सरकारी निकायको प्रतिवेदनमा पनि दोलखाको उत्तरी भेगको ९९ रोपनी तथा हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा र रसुवाको ६४ हेक्टर नेपाली भूभाग वर्षौ देखि चिनियाँ अतिक्रमणमा रहेको उल्लेख छ ।
दार्चुलाको उत्तरी भागको एउटा सिंगै गाउँ चीनमा पारिएको छ, त्यसवारे सरकार मौन छ । चीनसँगको नेपाली भूभाग फिर्ता गर्न आपसमा वार्ता हुनु पर्दथ्यो, तर सन् २००५ पछि त्यस्तो कुनै वार्ता भएको छैन । सीमा स्तम्भ तिव्वतको उचाईमा राख्नु पर्नेमा नेपाल तर्फको होचो भागमा गाडियो, नेपाल तर्फ बाट यसबारे खास चासो राखिएन ।
२०७३ देखि २०७६ सम्म मानव अधिकार आयोगका सदस्यद्धय गोविन्द शर्मा पौड्याल र मोहना अन्सारीले बेला बेलामा सीमा क्षेत्रको स्थलगत अध्ययन गरी चीनसँग पहल गरी नेपाली अतिक्रमित भूमि फिर्ता गर्नु पर्ने सुुझाव दिएका थिए ।
चीनप्रति विशेष झुकाव राखेर हो कि वर्तमान सरकार यस्ता कुरामा निरपोक्ष बसेको छ । विस्तारै नेपाली भूमि घट्ने चीनको भूमि बढ्ने अवस्था बढ्दै जानेको हो कि ?





























