sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

रसुवा बन्दरगाह निर्माण साठी प्रतिशत सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६० प्रतिशत सम्पन्न भएको छ ।

चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ ।

दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम गत वर्षदेखि नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ ।

बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । आगामी सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको निर्माणको काम ६० प्रतिशत सकिएको जानकारी दिनुभयो । अहिले बन्दरगाहभित्र भवन निर्माण, रिटनिङ वालमा माटो भर्ने, बाटो निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

कोभिडका कारणले लामो समयदेखि काम रोकिएकोमा हाल नियमित रूपमा भइरहेकाले तोकिएको समयमै सक्ने अनुुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

रसुवामा निर्माण हुन लागेको बन्दरगाह निर्माण सम्पन्न भएपछि आयात निर्यातलाई सहज बनाउने उहाँको भनाइ छ । “नेपाल–चीनबिचको रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,” उहाँले भन्नुभयो ।

रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने उहाँको भनाइ छ । बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ ।

बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ ।

समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन् ।

रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विसाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ ।

अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् ।

रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौँ आउने व्यवसायीको अनुमान छ ।

चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ ।

चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाका केन्द्रित काम गरिरहेको छ । अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा बनेको छ ।

चिनियाँ पक्षले रसुवामा अनुदानमै ठुला संरचना निर्माण केन्द्रित गरेको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबिच समझदारी भएको आठ वर्षपछि चिनियाँ पक्षले गत वर्षदेखि निर्माणलाई बल्ल तीव्रता दिएको छ ।

सुक्खा बन्दरगाह दुई हजार ८० वर्गमिटरमा फैलिएको छ । प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्ने छ । उक्त बन्दरगाहमा ३५० वटा कन्टेनर अट्ने छन् ।

जाँचपास बिन्दु दुई वटा हुने छन् । यसैबिच रसुवा नाकाबाट सबैभन्दा धेरै विद्युतीय सवारीसाधन आयात हुने गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ।

gold
prabhu bank
nawakantipur long