भरतपुर महानगरको बजेट चार अर्ब
e/tk'/ dxfgu/sf] gLlt tyf sfo{qmd k|:t't ub}{ bfxfn
lrtjg, !) c;f/ M e/tk'/ dxfgu/kflnsfsf] a'waf/ 5}6f}F gu/;efsf] pb3f6gkl5 gLlt tyf sfo{qmd k|:t't ug'{x'Fb} e/tk'/ dxfgu/kflnsf k|d'v /]g' bfxfn . t:jL/ M gf/fo0f clwsf/L, /f;;
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको छ ।
महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये रु ४८ करोड चालु खर्च रहेको छ ।
बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, आन्तरिक आय रु ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु ४६ करोड १२ लाख ५१ हजार रहेको बताउनुभयो ।
यस्तै आम्दानीतर्फ जनसहभागिताबाट रु २५ करोड, बैंक मौज्दात रु ८२ करोड, मर्मत सम्भार कोषबाट रु दुई करोड र सडकबोर्ड नेपालबाट रु एक करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।
चालु आर्थिक वर्षका लागि अघिल्लो वर्ष रु तीन अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको थियो । तर जेठ मसान्तसम्मको पुरक बजेट तथा थप अख्तियारीसमेत गरी कूल अनुमानित आय रु चार अर्ब ५१ करोड २८ लाख ८ हजार पुगेको छ ।
आउँदो वर्षका लागि बजेट कोभिड १९– बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई रोजगार सिर्जना गर्न केन्द्रित भएको छ ।
त्यसैगरी महानगरवासीको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्दै जाने, निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम् उपयोग गरी समृद्ध महानगर बनाउन बजेट केन्द्रित भएको उपप्रमुख ठकुरीले नगरसभालाई जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा आर्थिक, भौतिक, सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाइ राष्ट्रको विकासमा टेवा पु¥याउने बजेटमा उल्लेख छ ।
बजेटमा आउँदो आर्थिक वर्षका लागि ११ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । ती क्षेत्रमा शहरी सौन्दर्य र भू–उपयोग एवं बस्ती विकासमा रु ४७ करोड ३० लाख ९७ हजार, स्वास्थ्य सेवा सुधार एवं पहुँचमा रु ९ करोड ५० लाख, शिक्षामा रु ९ करोड, कृषि तथा पशुपक्षी विकासमा रु १५ करोड ५० लाख, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन र विपद् व्यवस्थापनमा रु ८ करोड विनियोजन गरिएको छ ।
यसैगरी रोजगारी सिर्जना तथा सहकारी प्रर्वद्धनमा रु चार करोड, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा रु तीन करोड, लक्षित वर्ग उत्थान, सशक्तीकरण एवं सामाजिक समावेशीकरणमा रु दुई करोड ५० लाख, प्रविधि प्रयोग तथा डिजिटल प्रणालीमा रु दुई करोड ५० लाख, युवा तथा खेलकूदमा रु दुई करोड, राजस्व, प्रशासन तथा वित्तीय सुशासनमा रु दुई करोड, उद्योग वाणिज्य तथा निजी क्षेत्रसँग सहकार्यमा रु एक करोड ५० लाख, सेवा प्रवाह र प्रशासनमा रु ७७ करोड विनियोजन गरिएको छ ।
सो अवसरमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै महानगर प्रमुख रेनु दाहालले विश्व यतिबेला कोरोना भाइरसले ल्याएको सङ्कट सामना गरिरहेको भन्दै मुलुक तथा महानगर पनि विपत्तिसँग जुधिरहेको बताउनुभयो । महानगरले कोरोना सङ्क्रमणसँग जुध्न भरतपुर कोरोना विशेष अस्थायी अस्पताल र कोभिड १९ प्रयोगशाला स्थापना गरेको भन्दै उहाँले सबै वडामा क्वारेन्टिनको स्थापना गरिएको जानकारी दिनुभयो ।
महानगरपालिकाले वितेका तीन वर्षमा साना ठूला गरी करिब ३०० किलोमिटर सडक कालोपत्र, वडा कार्यालय, उद्यान, सडक मर्मत, मेसजाली लगाउने, सीप विकास र क्षमता विकास, कृषि तथा पशु विकासका काम गरिएको दाहालले सभालाई जानकारी दिनुभयो ।
महानगरपालिकाले आफ्नै सिटी हल बनाउने लक्ष्यअनुरुप काम भइरहेको, महानगरीय चक्रपथ, लिङ्करोड, बाइपास रोडको स्तरोन्नति, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणका साथै शहरी पूर्वाधार निर्माणका काम अघि बढिरहेको दाहालले जानकारी गराउनुभयो । रासस
























