गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४ जना, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको हो ।
बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना, काठेखोला गाउँपालिकामा ३ जना, ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै पुरुषहरु हुन् । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन् ।
यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका, ३० वर्षीया महिलामा, ३३ वर्षीय पुरुष र २० वर्षीय युवकमा कोरोना पुष्टि भएकाे छ ।
पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष तथा तनहुको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकीका ५०४ जना सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि हिजो मात्रै गण्डकीमा १०८ जना सङ्कमित थपिएका थिए ।

























