stcnepal long ad
global ime bank long

अनियमितता भएको भन्दै खगेन्द्र नवजीवन केन्द्रमा तालाबन्दी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ‌ । गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै तालाबन्दी गरिएको छ ।

शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालीम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले विसं २०२६ मा स्थापित केन्द्रमा अपारदर्शिता बढ्न थालेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको सङ्घर्ष समितिका संयोजक रामप्रसाद कोइरालाले बताउनुभयो । संस्थालाई सरकारले शिक्षा र अपाङ्गता पुनस्र्थापनाका लागि अनुदान दिँदै आएको छ ।

गुठी संस्थानले समेत केन्द्रका लागि जग्गा उपलब्ध गराएको छ । यसरी जम्मा भएको अनुदान एवं भौतिक सम्पत्तिमा सङ्घका पूर्वअध्यक्ष मोहन महर्जनलगायत कार्यसमितिका पदाधिकारीले संस्था सञ्चालन सम्बन्धी सामान्य नियमको समेत पालना नगरी भवन अन्य संस्थालाई कार्यक्रम सञ्चालन गर्न दिने, सङ्घको नाममा रहेको कित्ता नं. १, १७ र १८ को जग्गा पर्खाल बाहिर पारी मौखिक रुपमा भवन बनाउन दिएको सङ्घर्ष समितिको आरोप छ । घर भाडाबाट आउने लाखौँ रुपैयाँ संस्थाका पदाधिकारीले घुमघाम गरेर सिध्याएका छन् ।

सरकारले विशेष शिक्षा परिषद्बाट शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि वार्षिक रु ७० लाखसम्म उपलब्ध गराउँछ । केन्द्रले सञ्चालन गरेको विशेष विद्यालयमा २०० विद्यार्थी अध्ययन गरिरहेकामा ३५ जनामात्र शारीरिक अपाङ्गता भएका छन् । सङ्घले सञ्चालन गरेको नेपाल अर्थोपेडिक अस्पतालमा पनि अनियमितता भएको सङ्घर्ष समितिको आरोप छ ।

अस्पताल सञ्चालन समितिको अध्यक्षसमेत रहनुभएका बेला महर्जनले सङ्घको अपाङ्ग कल्याणकारी कोषबाट रु ४८ लाख लिई संस्थाको नाममा गाडी किनी व्यक्तिगत रुपमा प्रयोग गर्नुभएको आरोप लगाइएको छ । संस्थामा विवाद भएपछि नगर प्रमुख सन्तोष चालिसेको संयोजकत्वमा समन्वय समिति गठन भएको थियो ।

केन्द्रमा आएको विवाद समाधानका लागि प्रयास गरेको उहाँले बताउनुभयो । प्रयास गरिरहेकै बेला अदालतबाट समन्वय समितिलाई कुनै काम नगर्नु भनी स्टे अर्डर आएकाले पछि केही नगरेको नगरपालिकाले जनाएको छ ।

विद्यालय भने नगरपालिकाअन्तर्गत नै सञ्चालनमा रहेको छ । वडा नं.६ का अध्यक्ष रमेश अर्यालको संयोजकत्वमा गठन भएको छानबिन समितिले पनि अनिमितता भएको ठहर गरेको थियो । केन्द्रको रु २५ लाख सहकारीमा राखी बढी ब्याज लिएर संस्थाको आयमा भने कम देखाएको तथ्य छानबिनका क्रममा भेटिएको अध्यक्ष अर्यालले राससलाई जानकारी दिनुभयो ।  रासस

IME Lifesidebar
kumari