stcnepal long ad
Himalayan bank

देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोके

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

सर्लाही । उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोकेका छन् ।

सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका थिए ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ ।

इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले उखु किसानका सङ्घ सङ्गठनले तत्काल उखु क्रसिङ नगर्न भनी ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो । इन्दुशङ्कर र एभरेस्ट दुवै उद्योगले उद्योग सञ्चालनका लागि केही दिनअघि नै डोङ्गा पूजा गरिसकेका छन् ।

दुवै उद्योगले किसानलाई उखु काट्ने चलान (अनुमतिपत्र) बाँड्न पनि सुरु गरिसकेका थिए । चलान बाँडेपछि उद्योगमा दुई हजार क्विन्टल तथा विभिन्न स्थानका काँटामा पाँच हजार क्विन्टलभन्दा बढी उखु जम्मा भइसकेको उखु प्रबन्धक रजकले बताउनुभयो । उद्योग सञ्चालन नहुन्जेल ती उखु अब डम्पिङ गरेर राखिने प्रबन्धक रजकले बताउनुभएको छ ।

उहाँले अन्य किसानलाई तत्काल उखु नकाट्न सूचना गरिसकिएको र किसान महासङ्घले अर्को निर्णय नदिएसम्म उखु क्रसिङ स्थगित गर्ने बताउनुभयो ।

सर्लाहीमा रहेका तीन वटा चिनी उद्योगमध्ये महालक्ष्मी चिनी उद्योग बगदहले केही दिनअघिदेखि नै उखु क्रसिङ सुरु गरिसकेको छ ।

सो उद्योगमा सोमबार दिउँसो आफूहरू पुगेर उखुको मूल्य निर्धारण नहुन्जेल मिल बन्द गरिदिन आग्रह गरेको उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण चिनी उद्योग धनकौलका मालिकले सरकारले मूल्य नतोक्दासम्म उखु क्रसिङ सुरु नगर्ने प्रतिबद्धता जनाएका छन् ।

मङ्सिर १७ गते उखुको मूल्य निर्धारण गर्न भएको वार्तामा सरकारले गएको वर्षभन्दा ११ रुपियाँ बढाउने गर्ने प्रस्ताव गरे पनि उखु किसानले अस्वीकार गरेका छन् ।

उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले चिनीमा भएको मूल्य वृद्धि अनुसार नै उखुको मूल्य बढाउनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । गएको वर्ष चिनी उद्योगले ५४० रुपियाँ र सरकारले ७० रुपियाँ अनुदान दिने गरी उखुको प्रतिक्विन्टल मूल्य ६१० रुपियाँ कायम भएको थियो ।

सरकारले दिने ७० रुपियाँ अनुदान रकममध्ये सर्लाही, नवलपरासी र कञ्चनपुरका किसानले अझै पैसा प्राप्त गर्न सकेका छैनन् ।

सर्लाहीमा अपूरो रकम निकासा भएर आएपछि कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० ले प्रतिक्विन्टल ७० रुपियाँमध्ये २१ रुपियाँका दरले वितरण गरेको छ ।

गत वर्षको बाँकी रहेको अनुदान रकम तत्काल निकासा नभएसम्म र यो वर्षका लागि उखुको मूल्य निर्धारण नहुन्जेलसम्म चिनी उद्योग सञ्चालन हुन नदिने मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो ।

himalayan life insurance
igi long