stcnepal long ad
global ime bank long

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको आदेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरू २५ मङ्सिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।

गोकुलबहादुर रोकायाले एनसेलको शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै उक्त कारोबारलाई  नेपालभित्र मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैर आवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको जानकारी गराएको थियो ।

उसले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स नामक कम्पनी सतीशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको उल्लेख गरेको थियो ।

उच्च अदालत पाटनले संसदको सार्वजनिक लेखा समितिले शेयर खरिदबिक्री रोक्का गर्न सरकारलाई निर्देशन दिएको, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत छानबिन गर्ने भनेर सूचना निकालेको र प्रधानमन्त्रीले समेत यसबारे अध्ययन गर्न निर्देशन दिएको भन्दै यस विषयमा रिट निवेदक र विपक्षीलाई छलफलमा बोलाउने र त्यतिबेलासम्म खरिद बिक्रीको विषयलाई यथास्थितिमा राख्न भनेको हो ।

उच्च अदालतले शेयर खरिद बिक्रीबारे कुनै निर्णय गरेको भए त्यो समेत लिएर छलफलमा आउनु भनी आदेश दिएको छ ।

IME Lifesidebar
kumari