राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र एपीएफ अस्पतालबीच सम्झौता
????????????????????????????????????
काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ९नाम्स० र नेपाल एपीएफ अस्पतालबीच शैक्षिक कार्यक्रम आदन प्रदान सम्बन्धी सम्झौता भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा नाम्स का उपकुलपति प्रा. डा. भुपेन्द्र कुमार बस्नेत र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौतामा शैक्षिक कार्यक्रम आदान प्रदान तथा वृत्तिविकासको लागि सहकार्य गर्ने उल्लेख छ। यसैगरी नेपाल एपीएफ अस्पतालमा नर्सिङ क्याम्पस स्थापना गर्ने र मेडिकल कलेजको सम्भाव्यता अध्ययनको योजना समेत रहेको छ।
कार्यक्रमा मन्त्री बस्नेतले पहिलो पटक स्वास्थ्य मन्त्रालयले सुरक्षा निकायलाई समेत विदेश अध्ययनको कोटा प्रदान गरी नेपाल एपीएफ अस्पतालबाट डा सुमित्रा थापालाई थाईल्याण्डमा हुने सेभेन्थ एसिएन एण्ड प्यासिफिक पपुलेसन कन्फ्रेन्स विषयक कार्यक्रममा मनोनित गरिएको जानकारी दिए।
उनले यस प्रकारका सम्झौताले दुवै निकायवीच शैक्षिक कार्यक्रमको विकासमा उल्लेखनीय योगदान पुग्ने समेत बताए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्ने संगठनको उद्देश्य रहेको बताउँदै सीमा क्षेत्रका सर्वसाधारणहरुलाई फाईदा पुग्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु विस्तार गर्ने बिषयमा मन्त्रालयका पदाधिकारीसँग छलफल समेत गरेका थिए।
कार्यक्रममा स्वास्थ्य सचिव देवकुमारी गुरागाई लगायत मन्त्रालयका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।






















