कोरोनामा राजनीति प्रवेश भयोः स्वास्थ्य मन्त्री ढकाल

आर्थिक सञ्जाल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीतिको प्रवेश भएको बताएका छन् ।
मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताए ।
उनले भने, ‘‘सुरुमा रागबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ । ’
मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भएपनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो १, २ दिनका घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनले बताए ।
मन्त्री ढकालले इ टिकेटिङ प्रविधि सुरुभएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नहुने बताए । जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उहाँले परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए ।