stcnepal long ad
global ime bank long

भक्तपुरमा आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भक्तपुर । जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ।

घटस्थापनादेखि दशैभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने उनले बताए । यो अवधिमा टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीकोसमेत तलेजु ल्याएर पूजा गरिन्छ ।

कुमारीलाई आजै दरबारस्क्वायरस्थित चतुर्ब्रह्म महाविहारमा लगेर पूजा गरी पुनःकुमारी घरमा लगेर विराजमान गराएपछि आजदेखि दशमीसम्म कुमारीको पूजा गर्न सर्वसाधारण आउने तलेजुका मूल नाइके जोशीले बताए ।

दशमीको दिन दिन कुमारीको हातबाट तलेजुका पुजारी, मूल नाइके लगायतलाई साइतको टीका लगाइदिएपछि सर्वसाधारणका लागि कुमारीले टीका लगाइदिने परम्परा छ । सोही दिन कुमारीले कुमारी घरबाट आफ्नै जन्मघर जाने इच्छा प्रकट गरेपछि घर लैजाने परम्परा रहेको छ ।

त्यसैगरी नेपालकै मूल तलेजुका रुपमा लिइने भक्तपुर तलेजुमा बैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दसैँघरमा पाञ्चायन निर्णायक समितिले निर्धारण गरेको शुभसाइतमा जमरा राखिन्छ ।

राजा हरिसिंहदेव र देवलदेवीले नेपाल सम्वत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा सुरु भएको तलेजुका मूल नाइके जोशीले बताए ।

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ ।

तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बलि दिइ कालरात्रि गरी जात्रा मनाइने तलेजुका मूल नाइके जोशीले बताए ।

तलेजुमा मूल पुरोहितले मांशाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी घरमा विराजमान गराई जात्रा मनाउने परम्परा छ ।

IME Lifesidebar
kumari