मणिपाल प्रकरण : २ जना कारागार चलान
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेकामध्ये २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कारागार चलान हुनेमा पोखरा ५ का विनय गुरुङ र पोखरा १७ का छावा भनिने सुशील कार्की हुन् । सो घटनामा ७ जना जनही १ लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवकुमार पियाको इजलासले विनय र सुशीललाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
धरौटीमा रिहा हुनेमा पोखरा ४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा ५, मालेपाटनका अभिनाश गुरुङ, पोखरा ५ पस्र्याङका अरुण गुरुङ, पोखरा ९ नयाँबजारका नितेश गुरुङ, पोखरा ९ नयाँबजारका विवेक गुरुङ, पोखरा २० भलामका मनीष थापा र पोखरा ११ फूलबारीका प्रदीप गुरुङ छन् ।
गत असोज ८ गते अस्पतालमा तोडफोड अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइ सरकारी वकिल कार्यालयमा अभियोगपत्र पेस गरेको थियो ।
लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरको लापरबाही भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए । त्यसबेला अस्पतालमा झडपको स्थिति उत्पन्न भएको थियो ।
साथै डा. अनिल शाहमाथि आक्रमण हुँदा चिकित्सकहरु पनि आक्रोशित बने भने मृतकका आफन्त विरोध तथा तोडफोडमै उत्रिएका थिए ।
मणिपालको घटनालाई लिएर त्यसबेला देशभर चिकित्सक आन्दोलित बनेका थिए ।आजको राजधानी दैनिकमा समाचार छ ।