मनसुन कमजोर भएपछि चिनी निर्यातमा प्रतिबन्ध लगाउने भारतको तयारी
नेपालमा मूल्यमा थप दबाब पर्न सक्ने
काठमाडौं । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस वर्ष ‘एल निनो’ मौसमी ढाँचाका कारण मनसुनी वर्षा कमजोर भएपछि उखु उत्पादनमा कमी आएका कारण चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको ब्लुमबर्गले उल्लेख गरेको छ ।
भारतले अक्टोबर १ बाट सुरु भएको नयाँ सिजनमा चिनीको निर्यातमा रोक लगाउने सम्भावना रहेको र यस विषयमा छिट्टै निर्णय हुने गोप्य स्रोतलाई उधृत गर्दै ब्लुमबर्गले लेखेको छ ।
यद्दपि, स्वदेशी आपूर्तिमा सुधार आएमा विदेशमा बिक्रीका लागि केही निर्यात कोटा जारी गर्न सकिने पनि उनीहरुले बताएका छन् ।
भारतले निर्यात प्रतिबन्ध लगाएमा चिनीको विश्वव्यापी आपूर्तिमै ठूलो संकुचन आउने देखिन्छ । भारत उखुको दोस्रो ठूलो उत्पादक राष्ट्र हो ।
यद्दपि, भारतमा यस वर्ष मनसुन विगत ५ वर्षयताकै कमजोर बनेपछि उत्पादनमा संकुचन आउने देखिएको छ । भारतले यसअघि चिनी निर्यातमा कोटा प्रणाली लागू गरेको थियो ।
ढिलो सुरु भएको वर्षाले उत्पादन घटाएपछि चिनीको निर्यात करिब ६० लाख टनमा सीमित गरेको थियो । अघिल्लो वर्ष भने भारतले १ करोड १० लाख टनसम्म चिनी निर्यात गरेको थियो ।
भारतको प्रतिबन्धले विश्वभर चिनीको भाउ बढ्ने देखिन्छ ।गत सेम्टेम्बर महिनामा कच्चा चिनीको फ्यूचर्स १२ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो । चिनीको आयातमा भर पर्ने राष्ट्रहरुमा यसको असर झन् धेरै देखिनेछ ।
नेपालमा अहिले नै चिनीको हाहाकार रहेको छ । चर्को मूल्य तिर्न खोज्दा पनि चिनी सहजरुपमा पाउने अवस्था छैन ।
भारतीले चिनी निर्यातमा प्रतिबन्ध लगाएमा नेपालमा भाउ झनै आकाशिने देखिन्छ । नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी खपत हुने गरेको छ । सोमध्ये १ लाख ६० हजार मेट्रिक टन बराबरको चिनी भारतबाट हुने आयातले धानिरहेको छ ।