मणिपाल प्रकरण झन् आक्रोशित बन्दै छन् चिकित्सकहरु
काठमाडौँ । पाँच दिनअघि पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी बिरामी सुकमाया दुराको उपचारका क्रममा निधन भएपछि आफन्तहरुले अझैसम्म शव उठाएका छैनन्।
लमजुङकी दुराको उपचारका क्रममा भेन्टिलेटरमा निधन भएलगत्तै आफन्तले ड्युटीमा रहेका चिकित्सक डा. अनिल शाहमाथि आक्रमण गरेपछि घटना उग्र बनेको थियो।
पोखरा प्रहरीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको छ तर उनीहरुलाई छाडेमात्र शव बुझ्ने जिकिर आफन्तजनले गरेका छन्। तर, त्यो दिनको आक्रामक घटनाका आरोपितहरुलाई छाड्ने मागमा चिकित्सकहरुको कडा आपत्ति छ।
शनिबार सिंहदरबारभित्र रहेको गृह मन्त्रालयमा चिकित्सक पक्षीय र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेतको उपस्थितिमा सरकार पक्षीय टोलीबीच वार्ता भएपछि कुनै निष्कर्ष निस्कन सकेको छैन।
चिकित्सकहरुले गृहमन्त्रालयको कार्यभार सम्हालेका श्रेष्ठसँग चिकित्सक आक्रमणका दोषीलाई कारबाही गर्न नसकेको भन्दै र्याख्र्याख्ती पारेका थिए। बैठक स्रोतका अनुसार मन्त्री श्रेष्ठ चिकित्सकहरुले ‘यस ठाउँमा तपाईँका भाइ भएको भए के गर्नुहुन्थ्यो’ भन्ने प्रश्नमा नाजवाफ बनेका थिए।
घटनाको दिनपछि चिकित्सकहरु लगातारजसो काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् भने उपचार सेवा प्रभावित बनेको छ। पाँच दिनदेखि जारी आन्दोलनले बिरामीहरु उपचार पाउनबाट बञ्चित भएका छन्।
सोमबार दुराको निधनपछि आफन्तले डा। शाहमाथि आक्रमण गरेका थिए भने लगत्तै ठूलो संख्याका आएका आक्रमणकारीहरुले पोखराको मणिपाल अस्पतालका चिकित्सकहरु तथा संरचनामाथि जथाभावी आक्रमण गरेका थिए।
चिकित्सकहरुमाथि पटकपटक भइरहेको आक्रमणप्रति सरकारको ध्यानाकर्षण गर्दै स्थायी समाधान खोज्न दबाब दिइए पनि सरकारले अझै ठोस निर्णय गर्नसकेको छैन।