टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने महिला पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखराको लेखनाथ टोलकी ३२ वर्षीया सुरुची भुजेल रहेकी छिन् ।
भुजेललाई सीआईबीको टोलीले आसोज ६ गते पोखराबाट पक्राउ गरेको हो ।आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा भुजेल पक्राउ परेकी हुन् ।
भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
अनुसन्धानका क्रममा भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ ।
भुजेलमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
९ असोज २०८०, मंगलवार १४:१० बजे प्रकाशित