evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

अन्तर्राष्ट्रिय उपभोक्ताको तिर्खा मेटाउँदै नेपालको पानी

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । नेपालको पिउने पानीको अन्तर्राष्ट्रिय माग र बर्सेनि निर्यात बढिरहेको तथ्यांकले व्यापारको अर्को सम्भावना देखाइरहेको छ । नेपालबाट पानी निर्यात हुन थालेको एक दशक भएको छ र यो बीचमा प्रशोधित, अर्धप्रशोधित र खनिजयुक्त पानी भारत, चीन, हङकङ, अस्ट्रेलिया, यूएई, जापान, जर्मनी, फ्रान्स लगायत मुलुकमा पुगिरहेको छ ।

उत्पादनको सीमितताका कारण उद्योगीहरूलाई माग धान्न हम्मे परिरहेको छ । उद्योगीहरूले आफ्नै बलबुतामा जसोतसो पानी उत्पादन र निर्यात गरिरहेका छन् ।

उनीहरूको यस प्रयासमा सरकारले प्रोत्साहन गर्न सक्यो भने मुलुककै लागि पानी विदेशी मुद्रा आर्जनको बलियो माध्यम बन्ने देखिएको छ ।

नेपालले गत आर्थिक वर्षमा ८२ लाख २० हजार ३ सय ७५ लिटर पानी निर्यात गरी ५४ करोड ३९ लाख ५२ हजार रुपैयाँ भित्र्याएको छ ।

अघिल्लो वर्ष ५३ लाख १२ हजार ९ सय २२ लिटर पानी अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो जसबाट ३० करोड ५३ लाख १२ हजार रुपैयाँ आम्दानी भएको थियो । यो आँकडा उत्साहजनक छ किनकि एक दशकअघि अर्थात् आर्थिक वर्ष ०७०/७१ मा नेपालले ३४ हजार रुपैयाँ बराबरको ५ सय २८ लिटर पानी निर्यात गरेको थियो ।

नेपालबाट रसुवा पानी, हिमालयन अन टप, किन्ले, अक्वा फिनाजस्ता ब्रान्डमा पानी निर्यात भइरहेको छ । नेपाली पानीका लागि तत्काललाई बजार खोज्न टाढा गइराख्नुपर्दैन, छिमेकी चीन र भारत नै ठूला बजार हुन् ।

अहिले ठूलो मात्रामा छिमेकी मुलुकमै नेपाली पानी निर्यात भइरहेको छ । उद्योगीहरूका अनुसार खाडीलगायत मध्यपूर्वका मुलुकहरूमा पानीको माग उच्च छ ।

तर, उद्योगीहरूले पर्याप्त मात्रामा प्रशोधन गर्न सकिरहेका छैनन् । खास गरी प्रोत्साहनजनक सरकारी नीति नभएकाले लगानीमा जोखिम मोलिहाल्ने आँट उनीहरूमा देखिँदैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ‘हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिने’ भनेको छ ।

यसले उद्योगीहरूमा केही आशा पलाएको छ । तर यस्ता कार्यक्रम घोषणा हुने, कार्यान्वयनमा तदारुकता नदेखाइने सरकारी प्रवृत्तिप्रति उनीहरूमा संशय देखिन्छ । त्यसैले सरकारले घोषणाअनुरूपको पहलकदमी जतिसक्दो छिटो लिन जरुरी छ ।

पानी उद्योगीहरूका लागि अहिले मनोबल उकास्ने नीति तथा कार्यक्रम चाहिएको छ । सरकारले उनीहरूलाई लगानीका लागि प्रोत्साहन गर्न सक्नुपर्छ र सहुलियत कर्जा प्रवाह गर्नुपर्छ ।

नेपालबाट स्थल–जलमार्ग र हवाईमार्गबाट पानी निर्यात हुने गरेको छ । हवाईमार्गबाट पानी ढुवानी गर्दा बढी खर्च लाग्ने र भारतीय बन्दरगाह हुँदै पानीजहाजबाट पठाउँदा बढी समय लाग्ने स्थिति छ । यसले नेपाली पानीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समस्या हुन्छ ।

त्यसैले पानी निर्यातका लागि हवाई कार्गो ढुवानी शुल्कमा छुट दिइनुपर्ने उद्योगीको माग छ । यस मागलाई सम्बोधन गर्न सरकारले चासो देखाउनुपर्छ । सरकारले विदेशस्थित नेपाली नियोगलाई परिचालन गरेर बजारीकरणमा सहयोग पुर्‍याउन सक्छ ।

पानी उद्योगहरूको प्राथमिकता पनि गुणस्तरीय उत्पादनमा हुनुपर्छ । गुणस्तरीय उत्पादन र प्रभावकारी प्रचारले पानीका नयाँ–नयाँ बजार खुल्दै जान्छन् ।

नेपालले हिमनदीको पानीलाई व्यापक प्रचार गरेर अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सक्छ । उद्योगहरूबाट गुणस्तरीय पानी उत्पादन सुनिश्चित गर्न आवश्यक मापदण्ड सरकारले बेलैमा तय गर्नुपर्छ र प्रभावकारी नियमन पनि गर्नुपर्छ ।

अहिले मुलुकमा अचाक्ली मात्रामा आयात बढिरहेको छ, निर्यात भने न्यून छ । त्यही कारण मुलुकको व्यापार घाटा महिनामै एक अर्ब रुपैयाँभन्दा बढी छ ।

व्यापार घाटा कम गर्ने मुख्य उपाय भनेकै उत्पादन बढाएर निर्यात वृद्धि गर्ने हो । यस्तो अवस्थामा प्रचुर सम्भावना रहेको पानीको उत्पादन र निर्यात सरकारको प्राथमिकतामा पर्नुपर्छ ।

ताजा पानीको पर्याप्त स्रोत भएर पनि मुलुकले त्यसबाट आर्थिक लाभ लिन नसकिरहेको अवस्था छ । त्यसैले सरकारले निर्यातयोग्य पानी उत्पादन हुन सक्ने क्षेत्र पहिचान र उद्योग स्थापनामा सधैं प्रोत्साहन गर्नुपर्छ ।

यस्ता उद्योगले विदेशी मुद्रा आर्जन मात्र गर्दैनन्, रोजगारीका अवसरहरूसमेत सिर्जना गर्छन् । सरकारलाई सोझै आउने राजस्व पनि बढ्छ ।

नेपाललाई पानीको अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउने सुनौलो अवसर देखिएको छ, यो अवसर सदुपयोग गर्न ढिला गर्नु हुन्न ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

himalayan life insurance long ad
igi long