समिट लघुवित्तले गर्यो वित्तीय विवरण सार्वजनिक

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा समिट लघुवित्तले ३ करोड ५९ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १६.१६% ले घटी हो । गत वर्ष यस संस्थाले ४ करोड २८ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा समिटको सञ्चालन नाफा ८.२६% ले घटेर ६ करोड १७ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष यसले ६ करोड ७३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । खराब कर्जा भने १.९५% बाट बढेर ३.०३% पुगेको छ । खराब कर्जा बढ्दा प्रोभिजन बढाउनुपरेको छ । यसले पनि नाफा प्रभावित बनाएको हो । कम्पनीको खुद ब्याज आम्दानी भने ५.०६% ले बढेर ११ करोड ८२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा समिटको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसामा खुम्चिएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २० पैसा थियो । समिटको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४२ पैसा छ ।