गणपति लघुवित्तको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसैअवधिको भन्दा १५४.६९ प्रतिशतले धेरै हो । गत वर्ष यही अवधिमा संस्थाले २७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस लघुवित्तले १ अर्ब ५५ करोड रुपैयाँ सापटी लिएको छ भने २ अर्ब २७ करोड ५२ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।
यस अवधिसम्म संस्थाले ५६ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । असोज मसान्तसम्म सञ्चालन नाफा १५४.६८ प्रतिशतले बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा ३८ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
यता, खुद ब्याज आम्दानी भने १.६२ प्रतिशतले घटेर ३ करोड ५६ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा बढेकाले यसको खुद नाफा वृद्धि भएको हो ।
गणपतिको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ । जगेडा कोषमा ३ करोड ६ लाख रुपैयाँ जम्मा भएको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७६ पैसाले बढेर ४ रुपैयाँ ५५ पैसामा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.१९ प्रतिशत पुगेको छ ।