छिमेक लघुवित्तले पुस २३ गते वार्षिक साधारण सभा बोलाए
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा पुस २३ गते बाेलाएको छ। संस्थाको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आगामी पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ।
सभा मकवानपुरको हेटौंडास्थित होटेल सामनामा बिहान ११ बजेबाट सुरु हुने जनाइएकाे छ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल ३० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्ने भएकाे छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति लिई डिजिटल बैंकिङ सम्बन्धी कार्यहरु गर्न प्रबन्धपत्रमा थप गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका प्रतिवेदन छलफल गरी अनुमोदन गरिने संस्थाले जनाएकाे छ। लाभांश र सभा प्रयोजनका लागि संस्थाले आगामी पुस ७ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसको अर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।


























