असोज २५ गतेबाट सिभिल लघुवित्तको ८९ हजार ४५० कित्ता सेयर लिलामी खुल्दै
काठमाडौं । असोज २५ गते आइतबारबाट सिभिल लघुवित्त वित्तीय संस्थाले ८९ हजार ४५० कित्ता सेयर लिलामी बिक्री गर्ने भएको छ । संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर लिलामीमा आउन लागेको हो ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । कात्तिक २ गतेसम्म आवेदन दिने म्याद रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट तथा सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।























