एनआरएन लघुवित्तले एफपीओ निष्कासन गर्ने तयारी भोली शनिबार विशेष सभा
काठमाडौं । एनआएन लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीको भोली शनिबार (भदौ २० गते ) विशेष साधारण सभा बस्दैछ ।
सभा, धनगढीको होटल साथीमा बिहान ११ बजे सुरु हुनेछ । आगामी ४ वर्षका लागि ४ जना संस्थापक र २ जना सर्वसधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । संस्थाको नाम र ठेगना परिवर्तन गर्नका लागि नियमावली र प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ ।
साविकको किसान र दिव्य लघुवित्त मर्ज अनुमोदन गर्ने एजेन्डा पनि छ । एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा गाभिएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको छ ।
३ कम्पनी एक भएपछि एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो । एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई पनि आफूमा समाहित गरिसकेको छ ।
हाल सम्म एनआरएनले ४३ जिल्लामा शाखा विस्तार गरिसकेको छ । आगामी १ वर्ष भित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गरि ७७ वटै जिल्लामा कारोबार विस्तार गर्ने योजना बनाएको छ । एफपीओ जारी गरी चुक्ता पुँजी १ अर्ब पुर्याउने योजना पनि रहेको छ ।























