गुराँस लघुवित्तको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तको नाफा ह्वातै बढेको छ । यसअवधिमा यस कम्पनीले ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनी ६० लाख २२ हजार रुपैयाँ नोक्सानमा थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ११८.९१५ ले बढेर १ करोड २९ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ५९ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
यता, गत वर्षको यसैअवधिमा ६० लाख २२ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको यस कम्पनीले यो वर्ष १४ लाख ६६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ ।
जगेडा कोषमा २ करोड ४८ लाख ७९ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा छ ।


























