stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल–चीन सिमानामा हाटबजार पूर्वाधार निर्माण गरिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालचीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने जनाएको हो ।

नेपाल–चीन कोरलानाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जगदीश जोशीले जानकारी दिए । उनले कोरलास्थित सीमानाकामा हाटबजार निर्माणका लागि प्रारम्भिक सर्वे अध्ययन गरिएको उल्लेख गरे ।

“हाटबजार लागि सर्वे अध्ययन, लागत अनुमान र डिजाइनको काम सुरु गरेका छौँ । साथै स्थानीय जनप्रतिनिधि र हाटबजार चलाउने व्यापारीको धारणा बुझ्दै छौँ”, उनले भने, “यसलाई कस्तो डिजाइनको बनाउने भन्ने अहिले यकिन भइसकेको छैन ।”

नेपाल–चीन उत्तरी कोरलानाका वि.सं. २०८० कात्तिक २७ गते औपचारिक रूपमा उपल्लो मुस्ताङका नागरिकका लागि खुल्ला गरिएको थियो ।

सीमावर्ती क्षेत्रका स्थानीय नागरिकका लागि बाह्रै महिना कोरलानाकाको ढोका खुल्ला गरिएसँगै चिनियाँ मालसामान बिक्री गर्न अ स्थायी रूपमा त्रिपाल टाँगेर हाटबजार सञ्चालन गर्दै आइरहेका छन् । नाका आसपास करिब दुई दर्जन बढी नागरिकले हाटबजारमार्फत व्यापार सञ्चाल गर्दै आएका छन् ।

समुन्द्री सतहबाट चार हजार ६२० मिटरको उचाइमा अवस्थित कोरलानाकामा हाटबजारका साथै स्थानीय युवालाई वैकल्पिक व्यापार व्यवसाय चलाएर आर्थिक जीविकोपार्जनमा योगदान पुगेको छ । नाकामा हाटबजार चलाउने स्थानीयका लागि भरपर्दो पूर्वाधार नहुँदा हिमपात, चिसो र हावाहुरीको सामाना गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले पूर्वाधार निर्माणको पहल थालिएको जोशीले बताए ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जोशीले कोरलानाकामा स्थानीय हाटबजार पूर्वाधार निर्माणका लागि विनियोजित बजेट अपुग हुने देखिएमा प्रदेश सरकारसँग थप माग गर्नुपर्ने आवश्यकता औँल्याए ।

वि.सं. २०८१ कात्तिक १४ गते नेपाल–चीन सिमाना कोरलास्थित अध्यागमन कार्यालयको उद्घाटनमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाकामा अव्यवस्थित रूपमा सञ्चालन भएका हाटबजारलाई व्यवस्थित गर्ने बताएका थिए ।

त्यसपछि उनले नाकामा हाटबजार व्यवस्थापन गर्न आंशिक बजेट विनियोजन गरेका हुन् । प्रदेश सरकारबाट विनियोजित बजेट न्यून भएको स्थानीय सरोकार भएकाहरूको भनाइ छ ।

पछिल्लो समय कोरलानाका व्यापारिक केन्द्रका रूपमा मात्रै नभई पर्यटकीय गन्तव्य समेत बनेको छ । नाकामा हुने अनुकूल मौसमका कारण दिनहुँ सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । गत ३० भदौदेखि यस नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै पर्यटकीय चहलपहल पनि बढेको स्थानीय बताउँछन् ।

नाकामा नेपाल पक्षबाट आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ पुग्ने पर्यटक तथा हाटबजार चलाएर बस्ने नागरिकलाई सास्ती हुँदै आएको छ ।

नाकामा खानेपानी, शौचालय र हाटबजारका स्टललगायत पूर्वाधार नहुँदा समस्या हुँदै आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाकामा पूर्वाधार निर्माणका लागि स्थानीय तह एक्लैले काम गर्न गाह्रो हुने भएकाले प्रदेश सरकारसँग समन्वय गरिएको उनको भनाइ छ ।

kumari bank
kumari
nawakantipur long