यो साता विश्व बजारमा सुनको मूल्य बढ्दो
सुनको मूल्यमा यसकारण बन्दैछ रेकर्डमाथि अर्को रेकर्ड

काठमाडौं । यो साता विश्व बजारमा सुनको मूल्य बढ्दो क्रममा रहेको छ । ब्याजदर कटौती गर्ने अमेरिकी रिजर्भ बैंक (फेड) को संकेतले सुनको खरिद बढ्न गई मूल्य वृद्धिमा चाप परेको विश्लेषकहरुले बताएका छन् ।
नेपाली बजारमा पनि यो साता सुनको मूल्यले एक पछि अर्को गरी नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार (असार ३० गते) प्रति १० ग्राम १ लाख २५ हजार ७७० रुपैयाँ रहेको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ लाख २६ हजार ४६० रुपैयाँ पुगेको छ । तोलामा सुनको भाउ १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य भने सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६०७ रुपैयाँ ५० पैसा रहेको भाउ साताको अन्तिम कारोबार दिन अर्थात, शुक्रबार प्रति १० ग्राम १ हजार ५६९ रुपैयाँ कायम भएको हो ।
पछिल्लो समय सुनको भाउमा तीब्र वृद्धि देखिएको छ । सुनलाई लगानीकर्ताहरुले रिसेसन प्रुफ मान्दा यसको माग बढेको हो । हाल विश्वमा देखिएको मन्दी, मुद्रस्फीति र अमेरिकी डलरको भाउ बढ्दा सुनको दर पनि बढेको हो ।
करिब एक वर्षयता, लगातारजसो सुनको भाउ बढिरहेको छ । विश्व बजारमै यसको माग बढेको पाइन्छ । अझ पछिल्ला महिनाहरुमा चीन लगायतका मुलुकहरुले भारीमात्रा सुन खरिद गरेर सञ्चय गरे । यसले पनि माग बढ्न गएको हो ।
यसैगरी, अन्य लगानीकर्ताहरु पनि सुनतर्फ आकर्षित भएको देख्न सकिन्छ । सञ्चय गर्न सजिलो, लगानीको सुरक्षित क्षेत्र भएकाले पनि यसतर्फ लगानीकर्ताको आकर्षण बढेको अनुमान गर्न सकिन्छ ।
विश्व बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि स्वतः बढ्ने गर्छ । किनभने सुन पूरै आयातमा निर्भर छ ।
हेरौं, साताभर सुनको मूल्य कुन दिन कति रह्यो ?