नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला काठमाडौंमा सुरु, २१० स्टल मार्फत वस्तुु तथा सेवाको प्रदर्शनी
काठमाडौं .नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित मेलाको समुद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् ।
यो मेला सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजना गरिएको हो ।
मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले निजी क्षेत्रले वर्षौंदेखि उठाइरहेको प्रदर्शनीस्थल निर्माणको कार्यलाई अगाडि बढाउन आफ्ना तर्फबाट पहल गर्ने बताएका छन् । उच्चस्तरीय प्रदर्शनीस्थल भएमात्र मेला महोत्सवको आयोजनालाई उत्कृष्टरुपमा व्यवस्थापन गर्न सकिनेमा महासंघले जनाएको छ ।
उनले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन मेला सहयोगी हुने विश्वास व्यक्त गरे । उद्योग मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले प्रदर्शनीस्थल निर्माणका लागि क्षेत्र हेरिरहेको र यस विषयमा महासंघसँग छलफल गरी चाँडै निर्णय लिने बताए ।
महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैधले स्तरीय प्रदर्शनीस्थल निर्माणका लागि वर्षौंदेखि अनुरोध गर्दा पनि त्यसले मूर्तरुप नपाएकोमा दुःखेसो व्यक्त गरेका छन् ।व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरदविक्रम राणाले अन्तर्राष्ट्रिय व्यापार मेलामा व्यापार प्रवर्द्धन केन्द्रले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
निजी क्षेत्रले करिब तीन देशकदेखि स्तरीय प्रदर्शनीस्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाइ भइरहेको छ ।
मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी २१० स्टलमार्फत विभिन्न वस्तुु तथा सेवाको प्रदर्शनीमा राखिएको छ ।