citizens life insurance long ad
stcnepal long ad

‘सुशासनकै माध्यमबाट राजस्व लक्ष्य हासिल गर्छौं’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासनकै माध्यमबाट राजस्वको लक्ष्य पूरा गरिने बताउनुभएको छ । राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा आन्तरिक राजस्व विभागले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले राजस्व सङ्कलनको लक्ष्य महत्वाकाङ्क्षी भए पनि त्यसलाई सुशासन कायम गरेरै पूरा गरिने बताउनुभएको हो ।

“यस वर्ष राजस्व सङ्कलनको लक्ष्य नै विगतभन्दा २७ प्रतिशत बढी छ,” उहाँले भन्नुभयो, “यो महत्वाकाङ्क्षी भए पनि सुशासन र सुधारका कार्यक्रममार्फत हासिल गर्न सक्छौँ ।”

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि समस्या भोग्नु परेका करदाताका लागि सरकारले ठुलो आँट गरेर ‘स्किम’ ल्याएकाले यसको फाइदा उठाउन आग्रह गर्नुभयो ।

सरकारले इमानदारीपूर्वक ठुलो आँट गरेर यस्तो स्किम ल्याए पनि पर्याप्त प्रचार हुन नसकेको उहाँको भनाइ थियो । “हामीमा इमान नभएसम्म सरकारले यति बोल्ड निर्णय गर्नै सक्दैन,” उहाँले भन्नुभयो, “खर्बौंको कर विवाद समाधान गर्न यो ठुलो अवसर हो ।”

अहिले लगानीका लागि पर्याप्त अवसर रहेकाले यस्तो अवस्थामा पनि लगानी नगर्दा निजी क्षेत्रतर्फ पनि प्रश्न उठ्ने अर्थमन्त्री डा. वाग्लेको भनाइ थियो ।

विविध प्रतिकूलताबिच पनि कात्तिकसम्म सरकारले भन्सार राजस्व लक्ष्य पूरा गरेको अर्थमन्त्री डा. वाग्लेले जानकारी दिनुभयो । अब राजस्वको लक्ष्य पूरा गर्न आफू नै ‘फिल्ड’ मा खटिएर लाग्ने पनि उहाँले कार्यक्रममा बताउनुभयो ।

राजस्व प्रशासनले इमानदार करदातालाई दुःख दिनु हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको पनि उहाँले उल्लेख गर्नुभयो । सुधारका प्रयासले सरकार उत्साहित रहेको भन्दै उहाँले पहिलो चौमासिकमा त्यसको सङ्केत देखिएको बताउनुभयो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले कर दिवसका उपलक्ष्यमा विभागका तर्फबाट १५ वटा सङ्कल्प प्रस्तुत गर्नुभयो । जस अन्तर्गत कर प्रणालीमा रूपान्तरण गर्ने, चालु वर्षमा राजस्व बेरुजु अङ्कको कम्तीमा ६० प्रतिशत फस्र्योट गर्ने, स्वैच्छिक कर सहभागिताको अभियान सञ्चालन गर्ने जस्ता लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा अत्यधिक सार्वजनिक बिदा हुने गरेको भन्दै घटाउनुपर्ने माग गर्नुभयो । अबको पाँच वर्ष कम बिदाभन्दा धेरै काममा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । यसले राज्य र नागरिकबिचको आर्थिक सम्बन्ध बलियो बनाउने उहाँले बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नीतिगत परिवर्तन गर्दा पर्याप्त तयारी गर्न आग्रह गर्नुभयो । पछिल्लो समयमा नीतिगत सुधार सकारात्मक रहेको भन्दै उहाँले त्यसलाई कार्यान्वयनमा ल्याउन जोड दिनुभयो ।

कर दिवसका अवसरमा गत आर्थिक वर्ष २०८२/८३ मा सर्वाधिक आयकर दाखिला गर्ने विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । सो क्रममा निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने सूर्य नेपाल प्रा.लि.का कर्पोरेट मामिलाका उपाध्यक्ष रवि केसीले यस किसिमको सम्मानले कर असुली प्रणालीमा उत्साह दिने र धेरै कर तिर्ने प्रतिस्पर्धा जगाउने बताउनुभयो ।

 

IME Life
kumari