नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माण गर्न महासंघको आग्रह
काठमाडौँ । राज्यको नीतिमा सुधार गरेर व्यवसायमैत्री वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारलाई आग्रह गरेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघद्धारा जारी विज्ञप्तिका अनुसार महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी निजी क्षेत्रले भोगिरहेका समस्या, नीतिगत सुधार र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका छन।
मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइको समाधान, बाढीपहिरोपछि प्रभावित आर्थिक गतिविधिको पुनरुत्थान र निर्यात प्रवर्धनका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने अध्यक्ष श्रेष्ठले माग गरेका छन ।
उद्योग व्यवसाय सञ्चालनमा देखिएका समस्याको समाधान, लगानीमैत्री नीति तथा कानुनी व्यवस्था, पूर्वाधार विकास र निजी क्षेत्रको मनोबल अभिवृद्धिमा अध्यक्ष श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘सरकार सबैको अभिभावक हो । निजी क्षेत्र उत्पादन र उत्पादकत्व वृद्धि, निर्यात विस्तार तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सधैं तयार छ । यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ,’ अध्यक्ष श्रेष्ठले भनेका छन ।
सो भेटघाटमा उद्योगी–व्यवसायीले भोगिरहेका नीतिगत, प्रशासनिक तथा व्यावहारिक समस्याको पहिचान गरी समाधान गर्न र लगानी विस्तारमा देखिएका अवरोध हटाउन अध्यक्ष श्रेष्ठले सरकारसँग आग्रह गरेका छन ।
बाढीपहिरोजस्ता प्राकृतिक विपद्पछि प्रभावित उद्योग, व्यवसाय, आपूर्ति प्रणाली तथा पूर्वाधारको पुनःस्थापना गर्दै आर्थिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्नुपर्ने विषयमा पनि महासंघले जोड दिएको थियो ।
भेटमा मन्त्री सुनिल लम्सालले महासंघले उठाएका विषयप्रति सकारात्मक प्रतिक्रिया दिँदै आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार लगायतका काम भइरहेको बताएका थिए ।
‘निजी क्षेत्रका समस्याहरु के के छन् । के कस्ता कानूनी सुधार गर्दा देशमा आर्थिक गतिविधि बढ्छ । रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । सरकार त्यो गर्न तयार छ । ती समस्या निजी क्षेत्रले खुलस्त राखोस्,’ मन्त्री लम्सालले भनेका थिए।
मन्त्री लम्सालले स्थानीय उद्योगहरुको प्रवद्र्धन तथा दीगो सञ्चालनका लागि सरकार तत्पर रहेको दाबी गरेका छन ।
मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइको समाधान, बाढीपहिरोपछि प्रभावित आर्थिक गतिविधिको पुनरुत्थान र निर्यात प्रवर्धनका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने देखिन्छ। अन्यथा चालू आर्थिक वर्षमा आर्थिक बृद्विदर ३।७५ देखि ४।१० भन्दा माथि नजान सक्छ।
सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक बृद्विदर हासिल गर्ने लक्ष्य लिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नीतिगत सुधार, लगानीमैत्री वातावरण र निजी क्षेत्रका समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारसँग आग्रह गरेको छ।
महासंघले बाढीपहिरोबाट प्रभावित उद्योग–व्यवसायको पुनरुत्थान, पूर्वाधार विकास र निर्यात प्रवर्द्धनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन।
भोटेकोशीको भिषण बाढी,कालिगण्डकी र बुढीगण्डकीको बाढीले सडक अबरूद्व हुँदा,पृथ्वी राजमार्ग भासिदा देशको अर्थतन्त्र,रोजगारी,आयात– निर्यात व्यापार र राजस्व संकलनमा ठुलो असर पारेको छ।करिव साँढे सात खर्ब रकम बाढीबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, पिडित नागरिकको पुनर्थापना,राहत,क्षतिपूर्ति आदिमा खर्च हुने सरकारी अनुमान छ।






















