citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

विश्वभर कुल कार बिक्रीमा ईभीको हिस्सा ३१ प्रतिशत, बन्यो नयाँ रेकर्ड

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । विश्वभर बिक्री हुने कुल प्यासेन्जर कारमध्ये विद्युतीय गाडी (ईभी) को हिस्सा ३१ प्रतिशत पुगेको छ । सन् २०२६ को पहिलो नौ महिनामा ईभीको बजार हिस्सा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

अष्ट्रेलियाको कमनवेल्थ बैंकका सस्टेनेबल एन्ड इनर्जी इकोनोमिस्ट जोन ओहका अनुसार पेट्रोलियम पदार्थको बढ्दो मूल्य र ऊर्जा सुरक्षासम्बन्धी चिन्ताले विश्वभर ईभीको माग बढिरहेको छ । उक्त तथ्यांकमा ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) र प्लग–इन हाइब्रिड (पीएचईभी) दुवै समावेश छन् ।

युरोप ईभी बिक्री वृद्धिको प्रमुख क्षेत्र बनेको छ । सन् २०२६ मा युरोपमा ईभी बिक्री ३७ प्रतिशतले बढेको छ । त्यहाँ कुल प्यासेन्जर कार बिक्रीमा ईभीको हिस्सा ४३ प्रतिशत पुगेको छ ।

उदीयमान बजारमा पनि ईभीको माग तीव्र रूपमा बढिरहेको छ । भारतमा ईभी बिक्री ७६ प्रतिशतले वृद्धि हुँदा कुल कार बिक्रीमा यसको हिस्सा ९ प्रतिशत पुगेको छ । त्यस्तै, जापानमा ईभी बिक्री ८० प्रतिशतले बढेर बजार हिस्सा ५ प्रतिशत पुगेको छ । ब्राजिलमा भने ईभी बिक्री १६४ प्रतिशतले बढ्दै बजार हिस्सा १३ प्रतिशत पुगेको छ ।

अर्कोतर्फ, विश्वकै ठूलो ईभी बजार चीनमा भने बिक्रीमा केही गिरावट देखिएको छ । सन् २०२६ को पहिलो नौ महिनामा चीनको ईभी बिक्री १३ प्रतिशतले घटेको छ । सेप्टेम्बर महिनामा मात्रै बिक्री १६ प्रतिशतले घटे पनि त्यहाँ कुल प्यासेन्जर कार बिक्रीमा ईभीको हिस्सा ६७ प्रतिशत पुगेको छ ।

चीनमा विद्युतीय कमर्सियल गाडीको प्रयोग पनि तीव्र रूपमा बढिरहेको छ । सन् २०२६ को सेप्टेम्बरमा चीनमा बिक्री भएका कुल ट्रकमध्ये ५५ प्रतिशत विद्युतीय थिए । अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा २५ प्रतिशत मात्रै थियो ।

चीनमा सरकारी अनुदान तथा पुराना गाडी विस्थापन गरी नयाँ विद्युतीय ट्रक खरिद गर्ने योजनाले पनि यसको बिक्री बढाउन सहयोग गरेको छ । यद्यपि लामो दूरीको ढुवानीमा चार्जिङ पूर्वाधार र सामान बोक्ने क्षमता तथा रेन्जबीचको सन्तुलन चुनौतीका रूपमा रहेको छ ।

समग्रमा विश्वका विभिन्न बजारमा ईभीको पहुँच विस्तार भइरहेको छ। विशेषगरी युरोप र उदीयमान अर्थतन्त्रमा देखिएको वृद्धिले आगामी दिनमा विश्व अटोमोबाइल बजारको विद्युतीकरण अझ तीव्र हुने संकेत गरेको छ ।

नेपालमा पनि विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा आयात तथा बिक्री भएका कुल चारपाङ्ग्रे सवारीसाधनमध्ये ८०.३० प्रतिशत ईभी थिए । उक्त अवधिमा १४ हजार ७७३ वटा चारपांग्रे सवारीसाधन आयात हुँदा ११ हजार ८६३ युनिट ईभी थिए ।

पेट्रोलियम पदार्थको बढ्दो मूल्य, कम सञ्चालन खर्च, विद्युतीय सवारीसाधनको बढ्दो उपलब्धता र चार्जिङ पूर्वाधार विस्तारले नेपालको अटो बजारमा ईभीको आकर्षण बढाएको देखिन्छ ।

IME Life
ofukuro
kumari