नेपालमा एसेम्बल उद्योग स्थापना गरेर मात्रै औद्योगिकीकरण पूरा हुँदैन: सौरभ ज्योती
काठमाडौं । उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा एसेम्बल उद्योग स्थापना गरेर मात्र औद्योगिकीकरण पूरा नहुने भन्दै आवश्यक पार्टपुर्जा तथा कम्पोनेन्टको स्थानीय उत्पादन बढाउनुपर्ने बताएका छन् । यसका लागि सरकारले पनि स्पष्ट समयसङमा र औद्योगिक नीतिको निरन्तरता दिनुपर्ने उनले बताएका हुन् ।
नेपालको अटो मोबाइल क्षेत्रमा पछिल्ला वर्षमा एसेम्बल उद्योग विस्तार हुँदै गएको उल्लेख गर्दै उनले अब पार्टपुर्जाको स्थानीय उत्पादन र आपूर्ति शृङ्खला विकासमा जोड दिनुपर्ने बताए ।
उनका अनुसार औद्योगिकीकरणको पहिलो चरणमा विदेशबाट पार्टपुर्जा ल्याएर नेपालमै सवारी साधन एसेम्बल गर्ने र क्रमशः पार्टपुर्जाको उत्पादन स्थानीयकरण गर्दै लैजाने प्रक्रिया स्वाभाविक हो ।
‘अटो मोबाइल क्षेत्रमा विशेषगरी ‘मेड इन नेपाल’भन्दा पनि पहिलो स्टेप ‘मेक इन नेपाल’ हो। ‘मेक इन नेपाल’ औद्योगिकीकरणको पहिलो चरण हो,’ उनले भने, ‘५–१० वर्षमा हामी ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान सक्छौँ र धेरै पार्ट कम्पोनेन्ट तथा डोमेस्टिक मटेरियल कन्टेन्टतिर जान सक्छौँ ।’
नेपालमा पछिल्लो समय एक दर्जनभन्दा बढी एसेम्बल उद्योग स्थापना भइसकेका छन् । चारपांग्रे सवारीतर्फ हुन्डाईको एसेम्ब्ली उद्योग सञ्चालनमा रहेको छ भने दुईपांग्रे सवारीतर्फ प्रमुख ब्रान्डका मोटरसाइकल तथा स्कुटरको एसेम्बल नेपालमै हुँदै आएको उनको भनाइ छ ।
तर, एसेम्ब्ली उद्योग स्थापना गरेर मात्र औद्योगिकीकरण पूरा नहुने भन्दै उनले आवश्यक पार्टपुर्जा तथा कम्पोनेन्टको स्थानीय उत्पादन बढाउनुपर्ने बताए । यसका लागि सरकारले पनि स्पष्ट समयसङमा र औद्योगिक नीतिको निरन्तरता दिनुपर्ने उनले बताए ।
उनले अटो मोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र सरकारी राजस्वमा महत्वपूर्ण योगदान गरिरहेको दाबी गरे। उनका अनुसार आर्थिक वर्ष २०८।२८३ को तथ्यांक हेर्दा अटो मोबाइल क्षेत्रको जीडीपीमा करिब ७ प्रतिशत योगदान रहेको छ भने सरकारले यस क्षेत्रबाट करिब ८९ अर्ब रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ ।
उनले नेपालमा विद्युतीय तथा अन्य स्वच्छ ऊर्जामा आधारित सवारी साधनको प्रयोग बढाउन सरकारले लिएको नीतिलाई पनि सकारात्मक रूपमा लिनुपर्ने बताए। पेट्रोलमा इथानोल मिसाउने नीतिले पनि आयातित इन्धनमा निर्भरता घटाउन र प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताए ।
उनका अनुसार नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको छ भने निजी क्षेत्रले करिब ८२ प्रतिशत जीडीपीमा योगदान गरिरहेको छ ।
व्यक्तिगत रूपमा निजी क्षेत्रका उद्यमीलाई सम्मान र लगानीको सुरक्षा सुनिश्चित गर्न सके आगामी दशकमा नेपालको अर्थतन्त्रले ठूलो फड्को मार्न सक्ने उनको भनाई छ ।





















