विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति गठन
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणमा भएका अनियमितता र सेवासम्बन्धी गुनासो अध्ययन गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणले छुट्टाछुट्टै दुई समिति गठन गरेका छन्।
ऊर्जा मन्त्रालयले ट्रान्सफर्मर खरिद र गुणस्तरबारे अध्ययन गर्न सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राजु महर्जनको नेतृत्वमा समिति बनाएको छ।
समितिले ट्रान्सफर्मरको गुणस्तर, भोल्टेज समस्या र बारम्बार विद्युत् अवरुद्ध हुने (ट्रिपिङ) लगायत विषय अध्ययन गर्नेछ।
त्यस्तै, प्राधिकरण सञ्चालक समितिले भूमिगत तार व्यवस्थापनका क्रममा देखिएका समस्या र गुनासो छानबिन गर्न सञ्चालक समिति सदस्य शम्भु केसीको नेतृत्वमा अर्को समिति गठन गरेको छ।
प्राधिकरणको ११५१ हटलाइनमा आएका करिब १ हजार ५०० उजुरीमध्ये अधिकांश ट्रान्सफर्मर र भूमिगत तार व्यवस्थापनसँग सम्बन्धित रहेपछि अध्ययन समिति गठन गरिएको हो।





















