stcnepal long ad
ime life insurance
national life
global ime bank long

विज्ञापन क्षेत्रलाई स्वच्छ र पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रुपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल विज्ञापन संघसँग साउन ४ गते सञ्चार मन्त्रालयमा भएको छलफलमा सञ्चार मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन, नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले विज्ञापन क्षेत्रको दुरुपयोग हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिँदै भन्नु भयो, “विज्ञापन क्षेत्रलाई स्वच्छ, स्वस्थ र पारदर्शी बनाउनु सबैको साझा दायित्व हो । गलत अभ्यास र दुरुपयोग हुन नदिन निजी क्षेत्रले पनि आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ । नियामक निकायलाई पनि काम गर्न सक्दिन भन्ने छुट छैन ।”

सञ्चारमन्त्री तिमिल्सिनाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा ठूलो अनियमितता र अपारदर्शिता रहेको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम सुरु गरिसकेको बताउनु भयो । साथै उहाँले सही ढङ्गले व्यवसाय गरेर पनि नाफा आर्जन गर्न र सफलता हासिल गर्न सकिने विश्वास स्थापित गर्नुपर्ने बताउनु भयो ।

“विगतमा इमान्दार ढंगले काम गरेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने विश्वास कमजोर थियो । हामी त्यो अवस्था परिवर्तन गर्न चाहन्छौं,” उहाँले भन्नु भयो ।

विज्ञापन क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुहुँदै सञ्चार मन्त्री डा. तिमिल्सिनाले यस क्षेत्रलाई नयाँ ऊर्जाका साथ अघि बढाउन सरकारले राष्ट्रिय  विज्ञापन  नीति २०८३ ल्याएको र यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइने स्पष्ट पार्नुभयो । “विज्ञापन नीति आइसकेको छ ।

अब त्यसको प्रभावकारी कार्यान्वयनमार्फत विज्ञापन क्षेत्रलाई कसरी व्यवस्थित र लाभदायी बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ,” उहाँले बताउनु भयो ।

सञ्चार मन्त्री तिमिल्सिनाले विज्ञापन बोर्डको नियामकीय क्षमता थप सुदृढ बनाउन सरकारले आवश्यक पहल गर्ने जानकारी दिँदै बोर्डलाई प्रभावकारी संस्थाका रूपमा विकास गरिने बताउनु भयो । साथै सरकार र निजी क्षेत्रबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले व्यावसायिकता, कानुनको पालना र उत्तरदायित्वलाई विज्ञापन क्षेत्रको आधार बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

छलफलका क्रममा सञ्चार मन्त्री डा तिमिल्सिनाले समग्र सञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यका साथ नयाँ कानुन ल्याउन लागेको र ती विधेयक बन्ने क्रममा रहेको बताउनु भयो । सञ्चार क्षेत्रका कमजोरीका कारण विज्ञापन बजार पनि प्रभावित भएको उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्र सुधारका काम योजनाबद्ध र चरणबद्ध रूपमा अघि बढाइने बताउनु भयो ।

छलफलमा नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले पछिल्लो एक दशकमा नेपालको विज्ञापन बजारको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन भएको बताउनु भयो । उहाँले अहिले विज्ञापन बजार अस्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख भएको उल्लेख गर्दै माग र आपूर्तिबीचको असन्तुलनले बजारलाई थप चुनौतीपूर्ण बनाएको बताउनु भयो ।

“नेपालको विज्ञापन बजार सानो भएकाले होइन, पर्याप्त लगानी नहुँदा चुनौती देखिएको छ । बजारको दायरा विस्तार गर्न स्वस्थ प्रतिस्पर्धा र दीर्घकालीन लगानी आवश्यक छ,” उहाँले भन्नु भयो ।

नेपालमा विज्ञापन डिजाइन, सिर्जनात्मक सामग्री ९क्रियटिभ० तथा जनशक्तिको राम्रो सम्भावना रहेको उल्लेख गर्दै उहाँले विज्ञापन क्षेत्रलाई समग्र इकोसिस्टमका रूपमा हेर्नुपर्ने धारणा राख्नु भयो । “विज्ञापनदाता, विज्ञापन एजेन्सी र सञ्चारमाध्यम सबै एकअर्कासँग जोडिएको प्रणालीका हिस्सा हुन्,” उहाँले भन्नु भयो ।

अध्यक्ष थापाले डिजिटल माध्यममा बढ्दो विज्ञापनलाई प्रभावकारी रूपमा नियमन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सामाजिक सञ्जालमा हुने विज्ञापन तथा ‘इन्फ्लुएन्सर मार्केटिङ’लाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले हालै ल्याएको राष्ट्रिय विज्ञापन नीति २०८३ का व्यवस्थाहरू स्वागतयोग्य रहेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि विज्ञापन क्षेत्रलाई व्यावसायिक सेवा क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नु भयो ।

नेपालमा विज्ञापन बजारको वास्तविक आकार, लगानी र कारोबारसम्बन्धी विश्वसनीय तथ्यांकको अभाव रहेको उल्लेख गर्दै संघले त्यसका लागि आवश्यक अध्ययन तथा अभिलेखीकरण गर्नुपर्ने सुझावसमेत दिएको छ ।

साथै, विज्ञापन बोर्डको पुनर्संरचना गरी त्यसलाई थप सक्षम, प्रभावकारी र आधुनिक नियामक निकायका रूपमा विकास गर्न सरकारले प्राथमिकता दिनुपर्ने धारणा पनि संघले राखेको छ । नेपालमा सरकारी विज्ञापन ५ अर्बको र निजी क्षेत्रबाट ४ अर्ब गरि ९ अर्बको विज्ञापन बजार रहेको एक अध्ययनले देखाएको छ।

सरकारी विज्ञापनमा ४० प्रतिशत अनियमितता र भ्रष्टाचार हुँदै आएको आरोप लागेको छ। सरकारले गत चैत्र १८ गतेदेखि सरकारी विज्ञापनमा रोक लगाएकोमा सर्वोच्च अदालतले असार अन्तिम साता विज्ञापन रोकको निर्णय खारेज गर्न आदेश दिएको छ।

IME Lifesidebar
kumari