stcnepal long ad
global ime bank long

बजार सुधारको योजना बनाउँदै सेबोन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार सुधार तथा लगानीकर्ता हित संरक्षणका लागि विस्तृत सुधार योजना अघि बढाएको छ । बोर्डले आगामी एक साताभित्र पुँजी बजार विकाससम्बन्धी मार्गचित्र सार्वजनिक गरी चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ ।

बोर्डले बिहीबार जारी गरेको विज्ञप्तिमा धितोपत्र बजारमा देखिएका समस्या समाधान, बजारको स्थायित्व, पारदर्शिता र विश्वसनीयता अभिवृद्धिका लागि समयबद्ध कार्ययोजना तयार गरिएको उल्लेख छ । बोर्डले मार्जिन कारोबार, बजार अनुशासन, जोखिम व्यवस्थापन तथा नियामकीय निर्देशनलाई पूर्ण रूपमा पालना गर्न सरोकारवालालाई निर्देशन दिएको छ ।

बोर्डले सार्वजनिक निष्कासन (आइपिओ) प्रक्रिया, धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी व्यवस्था, नियमन प्रणाली तथा संस्थागत सुशासनमा व्यापक सुधार गरिने जनाएको छ । यसका लागि धितोपत्रसम्बन्धी ऐन, नियमावली तथा विभिन्न निर्देशिकाको पुनरवलोकन गरिरहेको बोर्डले जनाएको छ ।

सेबोनका अनुसार बजारको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास अनुसार कानुनी तथा नियामकीय संरचनामा परिमार्जन गर्न खोजिएको छ । बोर्डले पछिल्लो समय बजारमा देखिएको अस्थिरता र विभिन्न अफवाह तथा अपुष्ट सूचनाले लगानीकर्तामा अन्योल सिर्जना गरेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जाल वा अनौपचारिक माध्यमबाट फैलिने हल्ला तथा बहकाउपूर्ण सूचनाको भरमा लगानी निर्णय नगर्न पनि बोर्डले अनुरोध गरेको छ ।

“लगानीकर्ताले आफ्नै अध्ययन, विश्लेषण तथा जोखिम वहन क्षमताको मूल्याङ्कन गरेर मात्र लगानी गर्नु उचित हुन्छ,” विज्ञप्तिमा भनिएको छ, “कम्पनीको वित्तीय अवस्था, व्यावसायिक सम्भावना, बजार अवस्था तथा आधिकारिक सूचनाको आधारमा मात्रै निर्णय लिनु पर्छ ।”

सेबोनले लगानीकर्ता हित संरक्षणमा केन्द्रित भएर बजार सुधारका कार्यक्रम अघि बढाइने जनाएको छ । बजारमा अनुशासन कायम गर्ने, पारदर्शिता बढाउने, नियमनलाई प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास पुनः स्थापित गर्ने उद्देश्यले सुधारका कार्यक्रम कार्यान्वयन गर्ने बोर्डको प्रतिबद्धता छ । तयारी गरिएका सुधारका कार्यक्रमले नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विश्वास बोर्डले व्यक्त गरेको छ ।

IME Lifesidebar
kumari