stcnepal long ad
ime life insurance
national life
global ime bank long

युरोजोनमा मुद्रास्फीति घट्यो, ब्याजदर नबढ्ने संकेत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । युरोपका २१ देश सम्मिलित युरोजोनमा मुद्रास्फीति घट्दै गएको छ।ऊर्जा तथा इन्धनको मूल्यवृद्धि सुस्त बनेपछि जुन महिनामा मुद्रास्फीति दुई दशमलव आठ प्रतिशतमा झरेको हो। यो युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले तय गरेको दुई प्रतिशतको लक्ष्य नजिक पुगेको संकेत मानिएको छ।

यससँगै आगामी मौद्रिक नीति बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना पनि बलियो बनेको विश्लेषकहरूले बताएका छन्।

युरोपेली तथ्यांक निकाय युरोस्ट्याटका अनुसार मे महिनामा तीन दशमलव दुई प्रतिशत रहेको मुद्रास्फीति जुनमा घटेर दुई दशमलव आठ प्रतिशतमा सीमित भएको छ। विशेषगरी अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न थालेकाले त्यसको प्रत्यक्ष प्रभाव युरोजोनको मुद्रास्फीतिमा परेको बताइएको छ।

ऊर्जा क्षेत्रको मूल्यवृद्धि अझै उच्च रहे पनि यसको गति भने उल्लेखनीय रूपमा घटेको छ। मे महिनामा ऊर्जा मूल्य १० दशमलव आठ प्रतिशतले बढेकोमा जुनमा त्यो वृद्धि आठ दशमलव सात प्रतिशतमा सीमित भएको छ।

त्यस्तै खाद्य वस्तु र सेवा क्षेत्रमा पनि मूल्यवृद्धि सुस्त बनेको देखिएको छ। खाद्य मुद्रास्फीति एक दशमलव छ प्रतिशतमा झरेको छ भने सेवा क्षेत्रको मुद्रास्फीति तीन दशमलव दुई प्रतिशतमा सीमित भएको छ। औद्योगिक वस्तुको मूल्यवृद्धि भने शून्य दशमलव नौ प्रतिशतमै स्थिर रहेको छ।

युरोजोनका प्रमुख अर्थतन्त्र फ्रान्स, जर्मनी र इटालीमा पनि मुद्रास्फीति घट्दो क्रममा रहेको तथ्यांक सार्वजनिक भइसकेको छ। विश्लेषकहरूले जुन महिनामा मुद्रास्फीति करिब तीन प्रतिशत रहने अनुमान गरेका थिए। तर वास्तविक तथ्यांक अनुमानभन्दा कम आएपछि मूल्यवृद्धि नियन्त्रणतर्फ सकारात्मक संकेत देखिएको बताइएको छ।

ऊर्जा र खाद्य वस्तुको प्रभाव हटाएर गणना गरिने ‘कोर मुद्रास्फीति’ पनि घटेको छ। मे महिनामा दुई दशमलव छ प्रतिशत रहेको कोर मुद्रास्फीति जुनमा घटेर दुई दशमलव चार प्रतिशतमा झरेको छ। यसले समग्र मूल्यवृद्धिको दबाब कमजोर बन्दै गएको संकेत दिएको अर्थशास्त्रीहरूको भनाइ छ।

यही अवस्थालाई आधार मान्दै आगामी जुलाई २३ मा हुने ईसीबीको मौद्रिक नीति बैठकमा ब्याजदर नबढाइने अपेक्षा गरिएको छ। गत महिना सन् २०२३ यताकै पहिलो पटक ब्याजदर बढाएको ईसीबी अहिले भने थप कडाइ गर्ने पक्षमा नरहेको संकेत देखिएको छ।

क्यापिटल इकोनोमिक्सका विश्लेषक ज्याक एलेन–रेनोल्ड्सले मुद्रास्फीतिमा आएको सुधारले तत्काल थप ब्याजदर वृद्धि आवश्यक नदेखिएको बताएका छन्। अक्सफोर्ड इकोनोमिक्सका टोमस ड्वोरकले पनि मूल्यवृद्धिको पछिल्लो प्रवृत्तिले ब्याजदर फेरि बढ्ने सम्भावना निकै कम रहेको टिप्पणी गरेका छन्।

ईसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले पनि घट्दो ऊर्जा मूल्य र कमजोर हुँदै गएको मूल्यवृद्धिको दबाबका कारण तत्काल थप कडा मौद्रिक नीति आवश्यक नरहेको धारणा सार्वजनिक गरिसकेकी छन्।

समग्रमा पछिल्लो तथ्यांकले युरोपेली अर्थतन्त्रमा मूल्यवृद्धि नियन्त्रणतर्फ सुधार देखिएको र त्यसले आगामी दिनमा ब्याजदर स्थिर रहने सम्भावना अझ बलियो बनाएको संकेत गरेको छ।

IME Lifesidebar
kumari