सरकारले आठ वटा विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया सुरु
काठमाडौँ । सरकारले आठ वटा विश्वविद्यालयमा उपकुलपति छनोटका लागि अल्पसूचीमा समावेश भएका उम्मेदवारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम शनिबारदेखि प्रारम्भ गरेको छ । शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुरूप शनिबार तीनवटै विश्वविद्यालयका उम्मेदवारको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो ।
उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
यस प्रक्रियाको विस्तृत कार्यतालिका मन्त्रालयका आधिकारिक माध्यममार्फत सार्वजनिक गरिसकिएको छ । छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयक्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यको सहभागिता सुनिश्चित गरिएको छ ।
साथै मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि पृथक् विज्ञको प्यानलको व्यवस्था गरिएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम क्रमशः आइतबार र सोमबार सञ्चालन हुने छ । यससँगै आठ वटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाले निर्धारित समयसीमाभित्र पूर्णता पाउने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो । छनोट तथा सिफारिस समितिको जेठ १३ गते बसेको बैठकले प्राप्त आवेदनको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकको दरखास्त स्वीकृत गरेको थियो ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गर्नुभएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट तयार गरिएको मन्त्रालयले जनाएको छ ।






















