खाडीको राष्ट्रको चमत्कार पुस्तकमा आउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । खाडी राष्ट्रले छोटो अवधिमै आर्थिक, सामाजिक र कूटनीतिक क्षेत्रमा हासिल गरेको चमत्कारिक उपलब्धि र सफलताको कथा पुस्तकमा आउने भएको छ ।

दुई दशकभन्दा बढी समय कतारमा रहेर खाडी मुलुकहरूको इतिहास, समाज, संस्कृति, भाषा तथा तिनले अर्थिक र कूटनीतिक क्षेत्रमा हासिल गरेको प्रगतिलाई सूक्ष्म रुपमा अध्ययन गरेका मोहम्मद रमजान अलि मियाले ‘बियोन्ड आयल: इकोनोभिक मिराकल अफ द गल्फ’ नामक पुस्तक प्रकाशन गर्न लागेका हुन् ।

आइतवार सम्पन्न पुस्तकको प्रि–लन्चिङ कार्यक्रममा मियाले खाडी मुलुकबारे संसारले जान्न नपाएको कुरा आफूले उक्त पुस्तकमा समेटेको जानकारी दिए । ‘खाडी मुलुक भन्ने बित्तिकै मानिसहरूले तेल र प्राकृतिक ग्यास बुझ्छन् ।

तर उनीहरूले विश्व कूटनीतिमा पनि प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्,’ मियाले भने, ‘कतारका अमिर शेख तमिम बिन हमाद अल थानी, साउदी राजकुमार मोहम्मद बिन सलमान जस्ता विश्वचर्चित युवा नेतृत्वको कूटनीतिक चातुर्य, क्षेत्रीय द्वन्द्व समाधानमा खेलेको मध्यस्थकर्ताको भूमिका जस्ता दर्जनौं विषय पुस्तकमा समेटेको उनले बताए ।’

खाडीको मुलुकहरूको प्रगतिका कथा नेपालका लागि पनि पाठ हुने ठानेर आफूले पुस्तक लेखेको मियाले बताए । यो मियाको ३७औं कृति हुनेछ ।

कतारको राष्ट्रिय मानव अधिकार आयोगमा स्वयंसेवकका रुपमा समेत कार्यरत मियाले प्रवासी नेपाली श्रमिकलाई उनीहरूका कर्तव्य र अधिकारको ज्ञान दिलाउन अरबी भाषा सिकाउने पुस्तकदेखि कतारको श्रम कानुनसमेत नेपाली भाषामा प्रकाशित गरेका छन् । उनले इस्लामका धार्मिक ग्रन्थहरू पनि नेपाली भाषामा प्रकाशित गरेका छन् ।

प्रि–लन्च समारोहमा सम्पादक सौदामिनी चालिसेले उक्त पुस्तकले खाडी मुलुकुहरू कतार, बहराइन, युनाइटेड अरब इमिरेट्स, ओमन, साउदी अरेबिया र कुवेतका सबै आयामहरूलाई एकै ठाउँमा समेटेर पाठकसामु पस्किने बताइन् ।

प्रकाशक सिमल बुक पब्लिकेसन तथा लेखन कुञ्जका अध्यक्ष कमल ढकालले आफूले चिनेकामध्ये मिया बराबर खाडीविज्ञ नेपाली अर्को नभएको बताए ।

‘त्यस्तो व्यक्तिले लेखेको पुस्तक कूटनीतिक र प्राज्ञिक क्षेत्रका लागि समेत सन्दर्भ सामग्री बन्नेछ,’ ढकालले भने । खाडी क्षेत्रको प्रभावशाली मुलुक कतारको सरकारले मियालाई दिएको जिम्मेवारी र इज्जत नेपालीले गर्व गर्नलायक रहेको पनि ढकालले बताए । पुस्तक दुई महिनाभित्र प्रकाशित भइसक्ने मियाले बताएका छन् ।

IME Lifesidebar
kumari