stcnepal long ad
ime life insurance
national life
global ime bank long

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल, वीरगञ्जबाट पनि उपलब्ध हुने भएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गरी निजामती कर्मचारी अस्पताल काठमाडौँले उपलब्ध गराउने छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो ।

उक्त छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचयपत्र प्राप्त गरेका निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई तोकिएबमोजिम उपलब्ध हुनेछ ।

सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा लिई जानुपर्ने सूचनामा उल्लेख गरिएको हो ।

निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवालाई प्रदेशस्तरमा समेत विस्तार गर्ने सरकारको नीतिअनुसार सो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

सूचनामा भनिएको छ, “त्यसका अतिरिक्त बाँकी प्रदेशबाट समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण भएको हुँदा आवश्यक तयारी पूरा गरी निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीलाई उपलब्ध गराउँदै आएको छुट, सहुलियतसहितको स्वास्थ्य उपचार सेवा सबै प्रदेशबाट उपलब्ध गराइनेछ ।”

यस व्यवस्थाबाट काठमाडौँ उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी र आश्रित परिवारले आफ्नै प्रदेशमा स्वास्थ्य सेवा प्राप्त गर्न सहजता हुने मन्त्रालयको अपेक्षा छ ।

IME Lifesidebar
kumari