आयल निगमका तत्कालीन कार्यालय प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना
काठमाडौँ । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हजारभन्दा लिटर बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरेको सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाउँदै उनलाई कैद र जरिवाना सुनाएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले उनलाई पाँच महिना कैद र ५६ हजार ६५ रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । त्यस्तै, इन्धन ट्याङकरका चालक निर्मल तथा पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमकट्टेललाई पनि सोही बराबरको सजाय भएको छ ।
बढी ढुवानी गरेको डिजेलको मूल्य बराबरको चार लाख ४८ हजार बिगो रकमलाई बिगो कायम गरी गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। जसमा तीन व्यक्ति र एक कम्पनीलाई दोषी ठहर गरी दामासाहीका हिसाबले जरिवाना तोकिएको छ ।
यो भ्रष्टाचार घटना साढे दुई वर्षअगाडिको हो । कार्यालयले पश्चिमाञ्चल ट्रेडर्सले गरेको १२ हजार लिटर पेट्रोलियम पदार्थको अर्डर स्वीकृत गरेको गरी डिजेल वितरण गर्दा घोटाला गरेको हो ।
यसमा २५ साउन ०८० को इन्भोइस नम्बरअनुसार डिजेल पश्चिमाञ्चल ट्रेडर्सको ‘ग।२ ख ८३६’ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल लोड गर्नुपर्ने थियो । तर, मिलेमतोमा १५ हजार ३८ लिटर लोड गरेर अनियमितता गरिएको थियो ।
डिप र सिल गर्ने जिम्मेवारीमा रहेका गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाटको समेत यसमा मिलेमतो रहेको भन्दै प्रतिवादी बनाइएकोमा उनीहरूले भने सफाइ पाएका छन् ।
























