stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल–अमेरिकाबिच सांस्कृतिक सम्पत्ति संरक्षण सम्झौतामा हस्ताक्षर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोकथामका लागि नेपाल र संयुक्त राज्य अमेरिकाबिच ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौताअन्तर्गत नेपाल सरकारद्वारा जारी भई म्याद ननाघेको निर्यात प्रमाणपत्रबाहेक नेपालबाट निश्चित पुरातात्त्विक तथा मानवजातीय सामग्री अमेरिकामा आयात गर्न अमेरिकी कानुनबमोजिम प्रतिबन्ध लगाइने व्यवस्था गरिएको छ ।

सम्झौताले पुरापाषाण युगको करिब इसापूर्व ३२,००० देखि इस्वी संवत् १७७० सम्मका पुरातात्त्विक सामग्री तथा १३औँ शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्रीलाई समेटेको छ ।

यसमा धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथा आनुष्ठानिक वस्तु र अमेरिकी सरकारले आगामी दिनमा प्रकाशित गर्ने निर्दिष्ट सूचीमा उल्लिखित पाण्डुलिपिहरू समेत समावेश छन् ।

यस सम्झौताले कलाकृतिको चोरीडकैती र अवैध व्यापारविरुद्ध द्विपक्षीय सहकार्यलाई सुदृढ बनाउँदै नेपालका सांस्कृतिक  निधिहरू भावी पुस्ताका लागि सुरक्षित रहने सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ । अवैध बजारमा अमूल्य सम्पदा पुग्न नदिई चोरीडकैतीका प्रेरक तत्त्व न्यूनीकरण गर्ने र सांस्कृतिक सम्पत्तिको जिम्मेवारीपूर्ण रखवारी प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

हस्ताक्षर समारोहमा राजदूत थम्पसनले यस सम्झौताले नेपालको सांस्कृतिक सम्पदाप्रति अमेरिकाको गहिरो सम्मानलाई उजागर गरेको बताउँदै अवैध ओसारपसार रोकथाम, कानुनसम्मत सांस्कृतिक आदानप्रदान र भावी पुस्ताका लागि सम्पदा जोगाउने साझा जिम्मेवारीमा बल पुग्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको सांस्कृतिक सम्पदाको जगेर्नाका लागि निरन्तर साझेदारीप्रति अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्दै विगत दुई दशकमा राजदूत सांस्कृतिक संरक्षण कोष र हालको सम्झौतामार्फत भएको सहकार्यले अवैध ओसारपसार रोकथाम र संरक्षणप्रतिको साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभयो ।

अमेरिकी विदेश मन्त्रालय अन्तर्गतको सांस्कृतिक सम्पदा केन्द्रले यस्ता सम्झौताहरूको कार्यान्वयनमार्फत सांस्कृतिक सम्पदाको अवैध ओसारपसार विरुद्ध नेतृत्व गर्दै आएको छ ।

हालसम्म विश्वभर लागू भएका ३० ओटा यस्ता सम्झौतासहित अमेरिका सांस्कृतिक सम्पदा संरक्षणमा विश्वव्यापी अगुवाका रूपमा रहेको जनाइएको छ ।

नेपालसँगको यो सम्झौता नेपालको सार्वभौमिकता र सम्पदाको सुरक्षाप्रति अमेरिकाको दीर्घकालीन प्रतिबद्धतामा आधारित रहेको छ ।

यस अन्तर्गत पछिल्ला दुई दशकमा २८ ओटा परियोजनाका लागि राजदूत सांस्कृतिक संरक्षण कोष मार्फत ४५ लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिएको छ, जसमा ऐतिहासिक स्मारक तथा पाण्डुलिपि जीर्णोद्धार, सम्पदा स्थल जगेर्ना र लुम्बिनीमा नेपालको पहिलो आधुनिक संरक्षण प्रयोगशालाको स्थापना समेत समावेश छ ।

prabhu mahalaxmi
kumari bank
kumari